Techie IT
Hetauda Khabar

हेटौंडामा स्थापना गरियो राष्ट्रिय सभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय


हेटौंडा । आसन्न राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रम सञ्चालन गर्न आज हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

हेटौँडा ५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

यसैबिच निर्वाचन आयोग, नेपालले मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीलाई आजैबाट लागु हुने गरी यहाँ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते मतदान कार्यक्रम तय गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि यही पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । साथै पुस २३ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सभामा रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ । बागमती प्रदेशबाट विभिन्न क्षेत्र (क्लष्टर)का गरी चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदैछ ।

बागमतीमा यस्तो छ दलगत अवस्था 

११९ स्थानीय तह रहेको बागमतीमा स्थानीय तहका मतदाता २३८ हुनुपर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको पद रिक्त छ । त्यस्तै ११० प्रदेशसभा सदस्य जोड्दा यहाँ मतदाताको संख्या ३४७ हुन्छ । स्थानीय तहमा ४ हजार ५०३ र प्रदेशसभामा ५ हजार ८३० गरी बागमतीमा १० हजार ३३३ मतभार छ ।

बागमतीमा पनि मतदाता र मतभारमा कांग्रेस अगाडि छ । उससँग १४५ जना मतदाता छन् । जसमा स्थानीय तहमा १०८ र प्रदेशसभामा ३७ जना छन् । स्थानीय तहको २ हजार ५२ र प्रदेशसभाको १ हजार ९६१ गरी यहाँ कांग्रेसको मतभार ४ हजार १३ हुन्छ ।

दोस्रोमा रहेको नेकपा एमालेसँग स्थानीय तहमा ६० र प्रदेशसभामा २७ गरी ८७ जना मतदाता छन् । एमालेसँग स्थानीय तहको १ हजार १४४ र प्रदेशसभाको १ हजार ४३१ गरी जम्मा मतभार २ हजार ५७५ छ ।

तेस्रोमा नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा ५७ र प्रदेशसभामा २१ गरी ७८ जना मतदाता छन् । माओवादीसँग स्थानीय तहको १ हजार ८३ र प्रदेशसभाको १ हजार ११३ गरी जम्मा मतभार २ हजार १९६ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीसँग स्थानीय तहमा ९ र प्रदेशसभामा ७ गरेर १६ जना मतदाता छन् । स्थानीय तहको १७१ र प्रदेशसभाको ३७१ गरेर उससँग जम्मा मतभार ५४२ छ ।

राप्रपासँग स्थानीय तहमा एक र प्रदेशसभामा १३ गरेर १४ जना मतदाता छन् । स्थानीय तहको १९ र प्रदेशसभाको ६८९ गरेर राप्रपासँग ७०८ मतभार छ । नेपाल मजदुर किसान पार्टीसँग स्थानीय तहमा २ र प्रदेशसभामा ३ गरेर ५ जना मतदाता छन् । स्थानीय तहको ३८ र प्रदेशसभाको १५९ गरेर उसको जम्मा मतभार १९७ हुन्छ ।

त्यस्तै हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ जना मतदाताको मतभार १०६ हुन्छ । बागमतीमा स्वतन्त्रबाट स्थानीय तहमा एक जनामात्रै निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको मतभार १९ छ ।

बागमतीमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । उनीहरुको मतभार ६ हजार ७५१ पुग्नेछ । प्रतिपक्ष नेकपा एमालेसहित सत्ता बाहिर रहेका दल दलको मतभार ३ हजार ५५२ मात्रै हुन्छ ।

राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट ४ जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो ।

निर्वाचन आयोगले राष्ट्रिय सभाका निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट