Techie IT
Hetauda Khabar

मकवानपुरको बागमतीमा ट्रकले मोटरसाइकललाई दियो ठक्कर, दुई जना घाइते


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-७ लामिटारमा भएको सडक दुर्घटनामा दुईजना घाइते भएका छन्।

शुक्रबार दिउँसो ३:३५ बजे धरान चतरा सडक खण्डको सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा २-०४० प ५७५३ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ग १ क ६००७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-९ का ४७ वर्षीय सरोज थापाको दाहिने हातमा र पछाडि सवार उनकी श्रीमती ४५ वर्षीया भारती थापाको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दम्पतीको उपचारका लागि बागमती गाउँपालिका-४ स्थित सानवि मेडिकलमा पठाइएको थियो ।

दुर्घटनापछि ट्रक र चालक फरार रहेका थिए। तर, राति ८ बजे ट्रकलाई लामिटारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट