Techie IT
Hetauda Khabar

विद्युत महशुल नतिरेको भन्दै थाहामा एनसेलको ६ वटा टावरको लाइन काटियो


हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महसुल नतिरेका कारण एनसेलका ६ वटा टावरको लाइन काटेको छ ।

पालुङ प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो ।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत् लाइनको बक्यौता लगातार ४ महिनादेखिको महसुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो ।

पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेको कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।

एनसेललाई पनि बक्यौता बुझाउन पटकपटक भनिएको भए पनि बक्यौता महसुल नबुझाएकोले लाइन काटिएको र सबै टावरको महसुल नबुझाए क्रमशः सबै टावरको लाइन काटिने पनि प्रमुख न्यौपानेले बताए ।

बक्यौता महसुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ भने लाइन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाइसकेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट