Techie IT
Hetauda Khabar

राष्ट्रियसभा निर्वाचन : बागमती कांग्रेसबाट मकवानपुर सभापति बुद्ध लामादेखि नीर शाहसम्मको नाम सिफारिस


हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिले राष्ट्रियसभा निर्वाचनका लागि ९१ जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश संसदीय बोर्डको बैठकले मकवानपुर सभापति बुद्ध लामादेखि नीर शाहसहित ९१ जनाको नाम सिफारिस गरेको हो ।

जसमा कांग्रेस केन्द्रीय कार्यसमितिका १० जना सदस्यहरूसमेत छन् । बोर्डका एक सदस्यका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनका लागि केन्द्रीय सदस्यहरू हरिशरण नेपाली, जिपछिरिङ लामा, गणेश लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, राधा घले, मदनबहादुर अमात्य, जितजंग बस्नेत, मदनकृष्ण श्रेष्ठ र गंगा अवालेको नाम सिफारिस भएको छ ।

त्यस्तै, प्रदेश पदाधिकारीबाट महामन्त्री राजु श्रेष्ठसहित सहमहामन्त्रीहरू जीवन डंगोल, चन्द्र महर्जन र हरिशरण श्रेष्ठको नाम सिफारिस भएको छ । लोकतान्त्रिक अपांग महासंघका पूर्वअध्यक्ष भोजराज श्रेष्ठको नाम पनि सिफारिस भएको छ । जिल्ला सभापतिहरूबाट काठमाडौं सभापति कृष्ण बानियाँ सवुजको नाम सिफारिस भएको छ ।

आकांक्षी धेरै देखिएपछि यति धेरैको नाम पठाइएको कांग्रेसले जनाएको छ । सभापति देउवाले आकांक्षी सबैको नाम सिफारिश गर्न स्वीकृति दिएको जनाईएको छ ।

राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट ४ जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो ।

उक्त पदहरूमा आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रिय सभाका निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेको छ ।

बागमती प्रदेशमा कूल प्रदेश सांसद ११० को ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

यस प्रदेशमा कांग्रेसको कूल मतभार ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६ मतभार रहेको छ । नेकपा एसको ५४२, राप्रपाको ७०८, हाम्रो नेपाली पार्टीको १०६, नेमकिपाको १९७ र स्वतन्त्रको १९ मतभार रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट