Techie IT
Hetauda Khabar

के हो अटिजम ? मकवानपुरमा मात्रै यसबाट ७७ जना ग्रसित


हेटौंडा । अटिजम स्नायु विकाससम्बन्धी समस्या हो, जुन बालबालिकाको विकास क्रममा देखिने गर्छ। अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ।

अटिजम भएका बच्चाहरुमा अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेर अनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिन्छन्। अटिजमका लक्षण प्रायः २ वर्षको उमेर सम्ममा देखा पर्छन्।

बागमती प्रदेशमा एक हजार २५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये मकवानपुरमा ७७ जना रहेका छन् । सबैभन्दा बढि काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ जना रहेका छन् ।

त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५–६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिइएको तथ्यांकअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार ८८६ जना रहेका छन् ।

मन्त्रालयका विज्ञ चिकित्सक डा. शाकार खनालका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ । एक जना महिला बराबर चार जना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिए ।

उनले भने, ‘भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ ।’ अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा एक हजार ७२८ र सहरमा तीन हजार १५८ जनामा यो समस्या देखिएको तथ्यांकमा उल्लेख छ ।

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताए । उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।’

नेपालमा रहेका अपाङ्गहरुमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको बताए । यो समस्या वंशाणुगत, वातावरण र संक्रमण्का कारणले हुने गर्दछ ।

बच्चालाई मोबाइल दिदैहुनुहुन्छ ? हुनसक्ला भर्चुअल अटिजम

अटिजम हुनुको कारण के हो ?
यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानले यसको ठोस कारण यही हो भनेर किटान गर्न सकेको छैन । अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभाव हो भन्ने गरिन्छ ।

यसका आन्तरिक र अन्य कारणहरुमा दम्पत्तीले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, २६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको सङ्क्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुनसक्छ ।

अटिजमको सामान्य लक्षणहरु के–के हुन् ?

  • एक्लै खेल्न मन पराउने
  • आँखा जुधाउन नसक्नु
  • अस्वभाविक रुपमा हाँस्ने वा कराउने,
  • उमेर अनुसार बोली नफुट्ने,
  • आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने
  • घाउचोट लाग्दा दुखाई महशुस नहुनु,
  • सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु
  • साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु
  • उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु
  • ठूलो आवाज सुन्दा कान थुन्ने
  • झर्को लागेको जस्तो व्यवहार देखाउने
  • एउटै मात्र खेलौना खेलिरहनु

अटिजम हुन नदिने के गर्ने ?

  • गर्भधारणको समयदेखि जन्म अवस्थासम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट फोलिक एसिड आदिको सेवन गर्ने ।
  • आफ्नो बालबालिकालाई अभिभावकले अधिकांश समय दिने
  • आफ्नो बालबालिकालाई रचनात्मक काममा क्रियाशिल गराउने
  • आफ्नो बच्चाको मानसिक क्षमताको बारेमा बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह सुझाव लिने ।
  • जति चाँडो बच्चाको अवस्था थाहा हुन सक्यो, त्यति नै उनीहरुको सञ्चार सहज तुल्याउन मद्दत पुग्ने हुन्छ । थेरापीको माध्यमबाट सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस कामका लागि अटिजम केन्द्रको भूमिका महत्वपूर्ण रहेको हुन्छ । यसमा बच्चाले भन्दा पनि अभिभावकले पहिले थेरापी लिन जरुरी हुन्छ । विद्यालय वा अन्य केन्द्रहरुमा गरिएको थेरापी केही कालको लागि मात्र हुने भएकोले उनीहरुले आफ्नो क्षमता अनुसार थेरापी प्रशिक्षण तालिम लिनु जरुरी छ ।

अटिजम भएको या नभएको कतिबेला शंका गर्ने ?

अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो। बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ ।

बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ । अटिजम स्नायु तथा नसाको विकासमा आउने ¥हासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो ।

यो समस्या कसरी पहिचान गर्ने ?
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गा¥हो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहो¥याउने आदि हुन्छ ।

इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन् । बालबालिका जन्मिएदेखि लगभग डेढदेखि दुई वर्षसम्म प्रस्ट रूपमा यसका लक्षण चिन्न गा¥हो हुन्छ ।

शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरूले याद गर्छन् । धेरैजसो बालबालिकामा त स्कुल गएपछि मात्र यो समस्या पहिचान भएको पाइन्छ ।

अटिजम दुई प्रकारको हुन्छ, हाइपर र लो । हाइपर भए बालबालिकामा प्रकाश, गन्ध, स्वाद, वासनामा बढी संवेदनशील हुने र अत्यन्त कम हुने हुँदा ठूला सामान उठाउन सक्छन् भने साना सामान उठाउन सक्दैनन् ।

उपचार के हुनसक्छ ?

यो रोगको उपचार थेरापी नै हो । समयमै रोग पहिचान गरी विहेवियर थेरापी दिनु नै यसको महत्वपूर्ण उपचार हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ ।

बालबालिकाका प्रथम गुरु नै अभिभावक हुन् । अभिभावकले नै उनीहरूसँग सबैभन्दा बढी समय बिताउने अवसर प्राप्त गर्छन् । त्यसैले यस्तो समस्या भएका बालबालिकाका अभिभावकले नै विहेवियर थेरापीको तालिम लिनु आवश्यक हुन्छ ।

उनीहरूले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापी दिनुपर्छ । यो आजीवन रहने समस्या हो । अटिजम भएकाहरू बौद्धिक रूपमा ठीक भए पनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् ।

नेपालमा यस्तो समस्या भएका बालबालिकाहरूको अवस्था के–कस्तो छ ?

अटिजम भएका बालबालिकाले उमेर पुग्दै गएपछि पनि आफ्नो उमेरका साथीसरह गतिविधि गर्न नसक्ने, गतिविधि गरे पनि एउटै गतिविधि धेरै गर्ने वा अत्यन्तै कम गर्ने जस्ता समस्या देखिन्छन् ।

यस्ता बालबालिकामा भाषाको विकास हुँदैन । नेपालमा अटिजम भएका सबै बालबालिकाको पहिचान नहुँदा अभिभावक तथा बालबालिका दुवै पीडित हुनुपरेको छ । पहिचान नहुँदा यस्ता समस्याले ग्रसित बालबालिकाहरू खोरमा, घरको कोठामा डोरीले बाँधिएर वा सिक्रीले बाँधिएर थुनिएको अवस्था छन् ।

ध्यान दिनुपर्ने कुरा समस्या पहिचान गरी परिवारले उनीहरूको व्यवस्थापनसम्बन्धी तालिम लिएपछि यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सक्छन् । संगीत, आर्टस् थेरापीजस्ता क्रियाकलापबाट उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ । यो समस्या पूर्णरूपमा समाधान नभए पनि केही सहजीकरण भने गर्न सकिन्छ ।

अटिजम भएका बालबालिकालाई दिइने थेरापीहरु के के हुन् ?

फिजियोथेरापीः फिजियोथेरापीमा प्रयोग गरिने विभिन्न विधिहरु जस्तैः व्यायाम, म्यानुपुलेसन, उपकरणको प्रयोग आदि मार्फत अटिजम भएको बच्चाको समस्या समाधान गर्ने प्रयास गर्दछ ।

स्पिच थेरापीः बच्चाहरुमा बोल्न सिकाउने, कुराकानी गर्न सिकाउने, आत्मविश्वास जगाउने, अरुसँग समायोजन गर्न सक्षम बनाउने आदिका लागि विशेष अभ्यास गराउने विधिबाट अटिजम बालबालिकामा अनेक विधिहरु सिकाउने गरिन्छ ।

अकुपेसनल थेरापीः दिनभरका गतिविधिहरु जस्तैः खानेकुरा पकाउन लगाउने, विभिन्न प्रकृतिका लुगा लगाउन दिने, कार्यक्रम सञ्चालन गर्न सिकाउने, खेल्न सिकाउने आदि अनेक कार्यमा संलग्न गराइन्छ । यसरी नै संवेदी एकीकरण चिकित्साका रुपमा प्रकाश एवं दृश्य, ध्वनि, स्पर्श, गन्धलगायत अन्य कुराहरुलाई प्रयोग गरी उपचार गरिन्छ । खेल चिकित्साका रुपमा विभिन्न खेलहरु खेलाएर र हेराएर उपचार गरिन्छ ।

संगीत चिकित्साः संगीतका विभिन्न विधाहरु जस्तै– नृत्य, गायन, वाद्यवादन आदिलाई  प्रयोग गरी बच्चाहरुको व्यवहारमा परिवर्तन ल्याउने, उनीहरुमा स्वस्थ मनोरञ्जन दिने, शारीरिक अभ्यासमा लगाउने र प्रस्तुतीकरण गराएर सामाजिकीकरणमा लैजाने जस्ता अभ्यासहरु गराइन्छ ।

कला थेरापीः चित्रकला, स्थापत्य कला, रंगहरुको प्रयोग, मूर्तिकलाका रुपमा विभिन्न आकारमा माटो वा अन्य वस्तु बनाउन र उनीहरुमा सृजनशीलता विकास गराउन सकिन्छ । यसरी नै अभिनय आदिको माध्यमले पनि उनीहरुमा शिक्षा दिएर व्यवहारमा परिवर्तन, प्रतिभाको विकास र उपचार गर्न सकिन्छ ।

व्यवहार थेरापी : यसले असमायोजित व्यवहारलाई समायोजन गर्न र सिकाइ तथा अभिप्रेरणाको लागि व्यवहार चिकित्साको प्रयोग गरिन्छ, जसले बच्चामा पुनर्बल प्राप्त भई सिक्न जागरुक हुन्छ । सामाजिक व्यवहार, कुराकानी र सञ्चार, दोहो¥याउने व्यवहारमा परिवर्तन आदि गर्नका लागि अप्लाइड बिहेवियर एनालाइसिस  को प्रयोग गरिन्छ ।योग थेरापीः योगका शीथिलीकरण, सूक्ष्म व्यायाम, आसन, प्राणायाम, धारणा, ध्यान, मुद्रा, मन्त्र, शोधन विधि आदिको प्रयोग गराई बच्चाहरुको शारीरिक तथा मानसिक स्वास्थ्य तथा व्यवहारमा सकारात्मकता ल्याउने प्रयास गरिन्छ ।

प्राकृतिक चिकित्सा थेरापीः मडथेरापी, हाइड्रोथेरापी, मसाजथेरापी, सनथेरापी, क्रोमोथेरापी, आहार तथा पोषण चिकित्सा, जडीबुटी, कल्प आदि पञ्चमहाभूत चिकित्साका विधिहरु तथा चुम्बकीय चिकित्सा, व्यायाम, जीवनशैली चिकित्सा, प्राकृतिक दृश्यावलोकन आदिलाई समावेश गरी बालबालिकाको अटिजमका समस्याहरुमा प्राकृतिक चिकित्सा प्रयोग गर्न सकिन्छ ।

यसबाट उनीहरुको शारीरिक तथा मानसिक क्षमताहरुको विकास, आरामीकरण, निर्विषीकरण तथा रोग–प्रतिरोधक क्षमताको समेत विकास हुन्छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट