Techie IT
Hetauda Khabar

मकवानपुरको गुप्तेश्वर गुफा : पर्यटकको पर्खाइमा


मकवानपुरको विकट कैलाश गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको गुप्तेश्वर गुफा पर्यटकको प्रतीक्षामा छ। भौगोलिक विकटता र प्रचारप्रसारको अभावले यो गुफा ओझेलमा परेको छ। यो गुफा कैलाश गाउँपालिका(१ र २ को सीमानामा अवस्थित छ।

यो गुफासम्म पुग्न काठमाडौँबाट दुई र मकवानपुरको जिल्ला मुख्यालय हेटौँडाबाट पनि दुईवटा मार्गबाट पुग्न सकिन्छ। काठमाडौँबाट धादिङ हुँदै गल्छी, गजुरी र कैलाश डाँडा हुँदै करिब २० किलोमिटर कच्ची बाटो यात्रा गरेर पुग्न सकिन्छ।

हेटौँडाबाट भने मनहरी हुँदै करिब ६० किलोमिटरको यात्रा गरेर, चुनियाँ हुँदै नामटार कालिकाटार हुँदै करिब ७० किलोमिटर यात्रा गरेर वा थाहा नगरपालिका हुँदै ३० किलोमिटर सवारीसाधन र त्यसपछि ३ घण्टा पैदल यात्रा गरेर पुग्न सकिन्छ।

यस गुफासम्म पुग्ने सबैभन्दा सहज र छिटो मार्ग हो काठमाडौँबाट गजुरी र गजुरीबाट कैलाशसम्मको कच्ची सडक हो ।  गजुरीबाट करिब डेढ घण्टामा पुग्न सकिन्छ।

हेटौँडाबाट भने सबैभन्दा सजिलो मार्ग हो मनहरी, राक्सिराङ, रतुवा हुँदै भार्ता, राक्सिराङ हो । हेटौँडादेखि मनहरीसम्म पक्की सडक छ भने अन्यत्र धेरैजसो कच्ची सडक छन्।

यो गुफा करिब २०० मिटर लामो छ। प्रवेश गर्न शुरुमा १०-१५ मिटर सुरुङबाट निहुरिएर जानुपर्छ। त्यसपछि पहिलो कोठामा पुग्छ जहाँ हात्तीको मूर्ति र खेतीपातीका चित्रहरू देख्न सकिन्छ।

दोस्रो कोठामा जान लगभग ५ मिटरको सुरुङबाट घुँडा टेकेर घुस्नुपर्छ। यहाँ शिवलिङ्ग, मण्डप र मूर्तिहरू छन्। शिवलिङ्गमाथिबाट पानी खस्छ जसलाई अमृत मानिन्छ। माथिल्लो भागमा मढेल जस्ता ध्वनि निकाल्ने खण्डहरू पनि छन्।

थोरै झुकेर अर्को ढोकाबाट तेस्रो कोठामा जान सकिन्छ जहाँ पनि सानो हात्तीको मूर्ति र कलात्मक चित्रकला छन्। गुफाको अन्तिम भागतिर मानिस पस्न नसक्ने सुरुङ र माथितिर एउटा घुम्रपट्टी सुरुङ छ जसलाई स्वर्गद्वारी भनिन्छ।

यस गुफामा देखिएका आकृति र आकारहरूलाई ईश्वरीय शक्तिको प्रतीक मानेर पूजा गरिन्छ। गुफा बाहिर झरना, मन्दिर र खोला खर्कको सुन्दर दृश्यले थप आकर्षण बढाउँछ।

गाउँपालिकाले यस क्षेत्रको पर्यटन पूर्वाधार विकास र गुफा तथा वरपरका कैलाश पर्वत, वैकुण्ठ क्षेत्रको एकीकृत विकास गर्ने योजना बनाएको छ। सडक मार्ग विस्तार गरिएको छ भने भविष्यमा थप सुविधा सम्पन्न बनाउने तयारी गरिएको छ।

३०० वर्ष पुरानो ऐतिहासिक महत्वको घरलाई संरक्षण गर्ने र स्थानीयलाई पर्यटन व्यवसायमा संलग्न गराउन होमस्टे सञ्चालनमा प्रोत्साहन गरिनेछ। यसबाट गुफा क्षेत्रको पर्यटनलाई थप प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट