Techie IT
Hetauda Khabar

हेटौंडा आएर अर्थमन्त्रीले भने : गाँजा खेतीलाई वैधानिकता दिने बारेमा छलफल चलिरहेको छ


हेटौंडा । अर्थतन्त्री डा. प्रकाश शरण महतले गाँजा खेतीलाई वैधानिकता दिने बारेमा छलफल भइरहेको बताएका छन । गाँजा खेतीको ठूलो सम्भावना रहेको बताउँदै यसलाई कुन मोडलमा विकास गर्ने र नेपालले पनि त्यसबाट फाइदा उठाउने भन्ने बारेमा सरकार गम्भीर रहेको उनले बताएका हुन् ।

हेटौँडामा मंगलबार गाँजा खेती अधिक हुँदै आएको राक्सिराङ गाउँपालिकाको तर्फबाट बुझाइएको गाँजा खेतीसम्बन्धी प्रस्ताव बुझ्नुहुँदै मन्त्री महतले नेपालमा गाँजा खेतीको ठूलो सम्भावना रहेको र सरकारले यसको विस्तृत अध्ययन गरिरहेको बताए। उनले भने, “हामीले विगतमा कानुन नै बनाएर गाँजा खेती रोकेका थियौं। तर अहिले भने विदेशी कम्पनीहरूले नै ठूलो संख्यामा गाँजा खेती गरी लाभ लिइरहेका छन्।”

अर्थमन्त्री महतले थपे, “सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ। हामीले एक अध्ययन समिति गठन गरेका छौं र त्यसको प्रतिवेदनका आधारमा गाँजा खेतीको विषयलाई अगाडि बढाउनेछौं।”

राक्सिराङ गाउँपालिकामा परम्परागत रूपमा गाँजा खेती हुँदै आएको र यसको प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै गाउँपालिकाका प्रमुख राजकुमार मल्ल र नेपाली कांग्रेसका गाउँ सभापति वीरेन्द्र जिम्बाले मन्त्री महतलाई गाँजा खेती विकास र वैधानिकताको लागि प्रस्ताव पेश गरेका थिए।

गाँजाबाट औषधीय गुण भएका कयौं पदार्थ निकाल्न सकिने र यसको ठूलो बजार रहेकोले नेपालमा पनि गाँजा खेतीलाई प्राथमिकता दिनुपर्ने धारणा राखिएको छ। गाँजा खेतीबाट रोजगारी सिर्जना हुने र किसानहरूले आम्दानी बढाउन सक्ने देखिएकाले यसको सम्भावना अध्ययन गरी आवश्यक नीति तय गर्नुपर्नेमा जोड दिइएको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट