Techie IT
Hetauda Khabar

हेटौंडा आएर प्रधानमन्त्री प्रचण्डले भने : मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्छ


हेटौंडा,२० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए ।

प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायत कामका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति १० हजार नगद उपलब्ध गराउने जानकारी दिए । आश्रमले मानवता प्रवर्द्धनमा पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए ।

त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताइन् । सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धा नागरिकको हेरचाह गर्न सहज हुने उनको भनाइ थियो । मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको जनाउँदै यसको समाधानमा सङ्घ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरिन् ।

बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताए । सबै मिलेर सडक मावनमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडाको पहिचानका रूपमा आश्रमले मानवताको प्रवर्द्धन गरिरहेको बताए । उनले पालिकाले आश्रमलाई निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

मानवसेवा आश्रमको भवन १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् ।

सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट