Techie IT
Hetauda Khabar

हेटौंडा सडक विस्तार तयारी पूरा, रेडी पोजिसनमा सडक, सुरक्षा संयन्त्र हाई अलर्टमा


हेटौडा सडक विस्तार गर्नका लागि डिभिजन सडक कार्यालय हेटौडाले दिएको १५ दिने अल्टिमेटमको समय आज सकिँदैछ।

भोलिदेखि सडक विस्तार कार्य सुरु हुनेछ । सडक विस्तारका लागि सम्पूर्ण तयारी सकिएको डिभिजन सडकले बताएको छ। सडक विस्तार गर्नका लागि चाहिने सम्पूर्ण उपकरणहरू तयारी अवस्थामा राखिएको छ भने भोलि बिहानैबाट काम थाल्ने सडक कार्यालयले जनाएको छ। सडक कार्यालयमा १८ बढी हेभी इक्युपमेन्ट भोलीका लागी तयारी अवस्थामा राखिएको छ ।

२०७३ सालबाट सुरु भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा बजारको सडक यहाँका विभिन्न राजनीतिक दल, अदालतको मुद्दा र कमजोर प्रशासकका कारण रोकिएको थियो। तर यसपटक भने अदालतको आदेशका आधारमा २५-२५ गज सडक विस्तार गर्नका लागि पछि नहट्ने तरिकाले जिल्लाका सम्पूर्ण संयन्त्र तयारी अवस्थामा रहेका छन्।

जिल्ला प्रशासन कार्यालय, हेटौडा उपमहानगरपालिका र डिभिजन सडक कार्यालयको बलियो सहकार्यमा यसपटक भने हेटौडा बजार भत्किने निश्चित भएको छ। १५ दिने म्याद आज सकिए लगत्तै भोलि बिहानैबाट विभिन्न स्थानबाट एकैसाथ सडक विस्तारको काम थाल्ने डिभिजन सडक कार्यालयले जनाएको छ।

यस्तो छ सुरक्षा रणनीति

उता सुरक्षा रणनीतिक योजना तयार भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। एक हप्ता लगाएर सुरक्षा रणनीतिक योजना तयार पारेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् ।  यसपटक भने विभिन्न बहानामा रोकिएको सडक विस्तार नरोकिनेमा अधिकारी ढुक्क छन् ।  प्रमुख जिल्ला अधिकारीका अनुसार शान्ति सुरक्षा र सडक विस्तार कार्यलाई किनारा नलाइन्जेलसम्मका लागि सम्पूर्ण सुरक्षा संयन्त्र चुस्त दुरुस्त अवस्थामा रहेको र तयारी अवस्थामा रहेको छ ।  सडक विस्तारका लागि शान्ति सुव्यवस्था कायम गर्नलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र आवश्यकताका आधारमा नेपाली सेनासमेत परिचालन गर्ने गरी तयारी अवस्थामा बसेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

प्रजिअ अधिकारीका अनुसार सडक विस्तार कार्य सही ढङ्गबाट अघि बढाउन र सडक फराकिलो कार्यलाई अन्तिम बिन्दुमा पुर्याउन केही समयदेखि लगातार सुरक्षा संयन्त्रलाई गोप्य सूचना संकलन गर्नका लागि खटाइएको थियो। प्रशासनले सम्पूर्ण सूचना समेत संकलन गरिसकेको र सोही अनुरुप भोलि बिहानबाट सडक विस्तारको कार्य जोडदारका साथ अगाडि बढाइने तयारी रहेको छ ।

कतिपयले सडक विस्तारको कार्यलाई समेत जेनजी आन्दोलनजस्तो उग्र बन्छ भन्ने अफवाह फैलाएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरेका छन्। उनले सम्पूर्ण सुरक्षा संयन्त्रलाई हाई अलर्टमा राखिएको र कानून विपरितका कार्य गर्ने जो कोही व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउने गरी अघि बढ्ने समेत बताए ।

‘अदालतको आदेश समेतलाई पालना गर्दै सडकका संरचना खाली गरी सडक विस्तार गर्ने हामी सबैको दायित्व भएकाले कानुन विपरीत कोही व्यक्तिले अवरोध गर्ने र भिडलाई उग्र बनाएर आन्दोलनको संघ्या दिएर अघि बढे हामी तत्काल एक्सनमा जान्छौं र तुरुन्तै मुद्दा चलाएर क्षतिपूर्ति समेत भराउने गरी प्रक्रिया अघि बढाउछौ.’ उनले भने ।

प्रजीअ अधिकारीका अनुसार जिल्लाका सम्पूर्ण सुरक्षा व्यवस्था बाहेक अन्य निकायबाट समेत सुरक्षाकर्मी मगाइकिएको छ। सम्बन्धित माथिल्लो निकायलाई पत्रचार गरी थप जनशक्तिका लागि सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसपटक डिभिजन सडक कार्यालय हेटौडाले निकालेको सूचनापछि हेटौडा उपमहानगरपालिकाले पनि बलियो साथ दिएको छ। हेटौडा उपमहानगरपालिकाको नगरसभाले पास गरेको सडक फराकिलो कार्यलाई सहयोग गर्ने विषयलाई यसपटक हेटौडा उपमहानगरपालिकाले पनि अघि बढाएको हो । सोही अनुरुप जिल्ला प्रशासन कार्यालय र डिभिजन सडकलाई उपमहानगरपालिकाले साथ दिएको छ। सडक फराकिलो गर्ने अभियान लाई कुनै पनि बाधा नपुर्याउने गरी उपमहानगरपालिका अघि बढेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए । सडक विस्तारका क्रममा सुकुम्बासी जस्तै बन्ने वास्तविक पीडित र व्यवसायीहरूको हकमा व्यवस्थापन गर्नका लागि हेटौडा उपमहानगरपालिकाले सहयोग गर्ने समेत उनले बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर पनि प्रमुख जिल्ला अधिकारी र डिभिजन सडक कार्यालयको प्लानिङ अनुसार नै तयारी अवस्थामा बसिसकेको छ। आफूलाई चाहिने जनशक्ती तयारी अवस्थामा राखिएको मकवानपुर प्रहरी प्रमुखले बताएका छन्।

भीड नियन्त्रणका लागि बल प्रयोग नगरी अघि बढ्ने प्रहरीले जनाएको छ। आफू मातहतका जनशक्ति बाहेक उपल्लो निकायलाई पत्राचार गरी थप जनशक्ति समेत तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट