हेटौंडा सडक विस्तार- जबर्जस्ती पसल बन्द गराएर व्यवसायीलाई आन्दोलनमा उतार्दै घरधनी
डिभिजन सडक कार्यालयले हेटौडा सडक विस्तार कुनै पनि हालतमा नरोकिने बताएसँगै सडक सीमाभित्र परेका संरचनाका घरधनीहरूले हेटौडाका व्यवसायीहरुलाई जबर्जस्ती आन्दोलनमा उपस्थित हुन दबाब दिएका छन् ।
आइतबारदेखि आन्दोलनमा उत्रिएका हेटौडाका घरधनीहरु सोमबार पनि जबरजस्ती व्यवसायीलाई पसल बन्द गर्न लगाउँदै आन्दोलनमा सहभागी हुन दबाब दिइरहेका छन् । हेटौडाका केही घरधनी तथा केही व्यवसायीहरू अहिले हेटौडामा नाराबाजी सहित र्याली गरिरहेका छन् ।
मुआब्जा बिना संरचना भत्काउन नदिने भन्दै २५ गज क्षेत्रभित्रमा पर्ने संरचनाका घरधनीहरू आन्दोलित बनेका छन्। उनीहरुले आफूहरूसँग लालपुर्जा भएको र वर्षौंदेखि कर समेत तिरिरहेकाले आफूहरूलाई सुकुम्बासी बनाउन नहुने भन्दै मुआब्जा बिना कुनै पनि संरचना भत्काउन नदिने बताइरहेका छन्।
त्यस्तै व्यवसायीहरुलाई समेत घरधनीहरूले जबरजस्ती र्यालीमा सहभागी हुन दवाव दिइरहेका छन्। संरचना भत्किने भएपछि बिहानै सटर खोलेर व्यवसाय गरी बसेका व्यवसायीहरूलाई समेत केही घरधनीहरूले दुर्व्यवहार गर्दै जबरजस्ती आफूहरूसँग आन्दोलनमा हिँड्नुपर्ने र व्यवसाय बन्द गर्नुपर्ने भन्दै दबाब दिइरहेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ।
उता व्यवसायीहरुले भने व्यवसाय गर्ने समय केही दिन मात्र बाँकी रहँदा समेत घरधनीले जबरजस्ती पसलमा आएर अपमानपूर्ण व्यवहार गर्ने गरेको र आन्दोलनमा जसरी पनि सामेल हुनुपर्ने दबाब दिने गरेको गुनासो गरेका छन् ।
‘भत्किने हल्ला छ, लाखौं ऋण छ सामान बिक्री भएन भने कहाँ लगेर फाल्ने भन्ने चिन्ता छ, केही दिन भएपनि व्यापार हुन्छ भनेर बिहानै पसल खोलेको तर घरधनीहरु आएर हप्काउने धम्क्याउने गर्छन्, पसल बन्द गर भन्छन् जसरी पनि व्यवसायीलाई मर्का हो’, एक व्यवसायीले गुनासो गरे,।
डिभिजन सडक कार्यालय हेटौडाले केही दिन अघि हेटौडा बजारभरका भत्किने संरचनाहरूको रेखांकन गरिसकेको छ। २० गतेदेखि विभिन्न स्थानबाट एकैसाथ भत्काउन सुरु गर्ने अन्तिम तयारी गरेपछि यहाँका घरधनीहरु आन्दोलित बनेका हुन् । २०७३ साल बाट सुरु भएको हेटौडा बजारको सडक विस्तार कार्य विभिन्न अल्झनमा परि रोकिएको थियो। यसपटक भने हेटौडा बजारको सडक विस्तार गराएरै छोड्ने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।
प्रकाशित मिति : मङ्लबार, २०८२ मंसिर १६, १२ :५३ बजे




















प्रतिक्रिया