Techie IT
Hetauda Khabar

हेटौंडा बजार भत्किने पक्का, दायाँ बायाँ २५-२५ गज सडक विस्तार हुने


वर्षौंदेखि अलमलिएको हेटौडा सडकखण्ड विस्तारले यसपटक भने सार्थकता पाउने निश्चित भएको छ।

एसियन हाइवे अन्तर्गत रहेको पूर्वपश्चिम राजमार्गको हेटौडा बजारमा पटकपटकको अवरोधपछि डिभिजन सडक कार्यालयले सडक विस्तार गर्न सकेको थिएन तर यसपटक भने डिभिजन सडक कार्यालय पूर्ण तयारीका साथ लागेको छ।

केही दिन अघि कार्यालयले १५ दिनको समय दिएर संरचना हटाउन अल्टिमेटम दिसकेको छ। त्यसै अनुरुप सडक कार्यालयले सडक विस्तारको सम्पूर्ण तयारी गरिरहेको छ। १५ दिने सुचनाको अवधि यहिँ १९ गते सकिदैछ ।

यसपटक सडक विस्तारमा हेटौडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको ठूलो सहयोग देखिएको छ। डिभिजन सडक कार्यालय हेटौडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौडा सडक विस्तार यसपटक नरोकिने र आफूहरू अन्तिम तयारीका साथ लागि परेको भनाई छ । उनका अनुसार १५ दिनको समय सक्किए लगत्तै हेटौडाका विभिन्न स्थानबाट सडक विस्तारको काम सुरुवात हुनेछ । त्यसका लागि आफूहरूले हेभी इक्विपमेन्टका लागि विभागलाई पत्राचार समेत गरिसकेको र १५ गतेभित्र हेटौडा सडक विस्तारका लागि चाहिने सम्पूर्ण इक्विपमेन्टहरु आइपुग्ने उनले बताएका छन्।

सडक विस्तारका लागि राजमार्गको ट्राफिक व्यवस्थापन र वैकल्पिक रूट लगायतका कुराहरूमा ध्यान दिन ‘टाक्स फोर्स’ समेत गठन गरिएको छ। सोही ‘टाक्स फोर्स’ को प्रतिवेदन अनुसार राजमार्ग व्यवस्थापन गरी सडक विस्तारको काम थाल्ने तयारी गरिएको छ।

सडक विस्तारका क्रममा सवारी साधनहरुलाई आवतजावत गर्न रोकावट नहोस् भन्नका निम्ति तीनवटा सडक लाई वैकल्पिक रुटका रूपमा लैजाने तयारी गरिएको छ। जसअनुसार चितवन हुँदै बीरगञ्जतर्फ लाग्ने सवारी साधनका लागि हेटौडाको राप्ती पुल छेउबाट त्रिवेणी हुँदै रातोमाटे निकाल्ने, त्यस्तै हेटौडा काठमाडौँ छोटो दूरीका सवारी साधनलाई रातोमाटेबाट त्रिवेणी धाम हुँदै राप्ती पुल हुँदै राप्ती खोलाको किनारबाट चौकी टोल निकाल्ने र कान्तिराजपथ र मदन भण्डारी लोकमार्गमा चल्ने सवारी साधनका लागि कमाने हुँदै सिधै रातोमाटे निकाल्ने गरी वैकल्पिक रुटको तयारी गरिएको छ।

यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछी यहाँका केहि घरधनीले अदालतमा रिट दायर गरेपछी अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्धामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो । अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट