बकैया गाउँपालिकामा मनलाग्दी, चिया नास्तामा डेढ करोड खर्च, मृत्यु भएकालाई भत्ता !

करोडौं रुपैंयाँ सरकारी रकमको दुरुपयोग गरेको मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयले अतिथि सत्कारमा चिया नास्ता र वडागत खर्चमा मात्र डेड करोड बढी खर्च गरेको पाइएको छ ।
महालेखा परिक्षकको कार्यालयले जारी गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा पालिकाले विभिन्न समयमा भएको बैठक र अतिथि सत्कारमा चिया नास्तालगायतमा १ करोड ५१ लाख ६५ हजार ५ सय २३ रुपैयाँ खर्च गरेको देखिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानी ६ करोड ३१ लाख ९० हजार ८ सय ५० रुपैयाँ रहेको अवस्थामा आम्दानीको करीब २४ प्रतिशत विविध खर्चमा लेख्नु औचित्यपुर्ण नदेखिएको भन्दै महालेखाले प्रश्न उठाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा मात्र विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले कार्यक्रम संचालन भएको प्रमाण, उपस्थिति लगायत केही संलग्न नगरी मनलाग्दी ठंगले सरकारी रकमको दुरुपयोग गरेको हो ।
त्यस्तै पालिकाले तलबी प्रतिवेदन नै पारित नगरी खर्च लेख्ने गरेको समेत पाइएको छ । निजामती सेवा ऐन २०४९ स्वास्थ्य सेवा ऐन २०५३ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ शिक्षा ऐन २०२८ मा तलवी प्रतिवेदन पारित गराएर मात्र तलब खर्च लेख्नु पर्ने उल्लेख छ । तर गाउँपालिकाले तलवी प्रतिवेदन पारित नगराई सङ्घीय सरकारबाट हस्तान्तरित चालु अन्तर्गत स्वास्थ्य तर्फ रु ३ करोड १३ लाख ७९ हजार १ सय २८ रुपैयाँ र गाउँपालिकाका तर्फ २ करोड १६ लाख ८ हजार ८ सय १८ गरी ५ करोड १५ लाख ४७ हजार ९ सय ४६ रुपैयाँ खर्च लेखेको छ । यसले कर्मचारीको तलब सुविधा के-कति गयो भन्ने विषयमा आशंका उब्जाएको छ ।
त्यस्तै पालिकाले मृत्यु भैसकेकाहरुलाई समेत भत्ता वितरण गरेको पाइएको छ । पालिकाले १५ जना मृत्यु भैसकेका व्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चलान गर्न नियमित रूपमा अनुगमन गर्नुपर्ने, केन्द्रिकृत सूचना प्रणालीमा प्रविष्टि गरी अधावधिक गर्नु पर्नेमा पालिकाले हचुवाको भरमा मृत्यु भैसकेकालाई समेत भत्ता दिएको पाइएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को बुँदा नं ९ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको योग्यता सम्बन्धमा व्यवस्था छ । साथै सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाईरहेका व्यक्तिको नाम हटाउने र उपनियम ४ मा ऐन विपरित हुने गरी भत्ता लिएको पाईएमा सरकारी बाँकी सरह असुल गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले मृत्यु भइसकेका केही लाभग्राहीको लगत कट्टा नगरी भत्ता खर्च लेखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् ।
बकैयाँ गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्षको मनलाग्दी, आफ्नै तोकादेशको भरमा २ करोड ८० लाख स्वाहा
क्याटेगोरी : समाचार
प्रतिक्रिया