Techie IT
Hetauda Khabar

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा


रौतहट,८ फगुन । खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा भारतीय तस्करहरूले नेपालमा भारतीय कुखुरा भित्र्याउन थालेपछि त्यसको असर नेपाली किसानमा पर्न थालेको छ ।

सीमामा तैनाथ रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलाबेलामा भारतीय कुखुरा बरामद गरेर नष्ट गर्ने गरेको भएपनि भारतबाट आउने कुखुराका कारण नेपाली किसान संकटमा परेको उनीहरुले गुनासो गरेका छन् ।

भारतबाट लुकाई छिपाई नेपाल भित्र्याउन लागेको ६० वटा बोइलर कुखुरा सोमबार नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेको छ  । साइकलमा भारतबाट लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कोपुवा पिपरिया प्रहरी चौकीले ६० वटा कुखुरा बरामद गरेको हो । कुखुरासँगै कुखुरा ल्याउन प्रयोग गरिएको चारवटा साइकल समेत प्रहरीले बरामद गरेको छ । ३८ हजार ४ सय मूल्य बराबरको कुखुरा प्रहरीले नष्ट गरेको हो ।

खुला सीमाका कारण भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा छिर्न थालेपछि नेपाली किसानहरु देशको प्रत्यक्ष मारमा परेको कुखुरा व्यवसायी रामविनोद पाण्डेको भनाइ रहेको छ । बेलाबेलामा सीमावर्ती क्षेत्रबाट नेपालभित्रने भारतीय ब्राेइलर कुखुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गर्ने गरेको भए पनि नेपालभित्रने क्रम रोकिन नसकिएको पाण्डेको भनाइ रहेको छ ।

रौतहटका कुखुरा व्यवसायीहरूले सीमा मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमै भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा आउने गरेको आरोप लगाउँदै आएका छन् ।  नेपालमा उत्पादन भएका ब्राेइलर कुखुराको तुलनामा भारतबाट आउने ब्राेइलर कुखुरा सस्तो पर्ने भएका कारण नेपाली बजारमा भारतीय कुखुरा बढी बिक्री हुने हुँदा नेपाली कुखुरा उत्पादक किसान मारमा परेको उनीहरूको गुनासो छ ।

भारतीय ब्राेइलर कुखुराको चल्ला र मासु प्रयोजनका लागि ठूलै ब्राेइलर कुखुरा नेपाल भित्रिन थालेपछि रौतहटका कुखुरा उत्पादक किसानहरू समस्यामा परेको भन्दै उनीहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन सुरक्षा निकायसँग माग गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट