Techie IT
  • २० फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २० फागुन २०८२, बुधबार

महेश बर्तौलाको भाषणले तामाङ समुदाय रिसायो, कारबाही गर्न माग


नेकपा एमालेबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ का उम्मेदवार महेश बर्तौलाले चुनावी प्रचारप्रसारका क्रममा गरेको भाषणले मकवानपुरका आदिवासी, जनजाती तथा तामाङ समुदायले अपमानित महसुस गरेका छन् ।

ADVERTISEMENT

बर्तौलाले तामाङ भाषामा ‘रक्सी खाएर सूर्यमा भोट हालौँ’ भन्दै मतदाताहरुलाई आग्रह गरेको भिडियो उनकै फेसबुकबाट केहीदिन अघि सार्वजनिक भएपछि उनीप्रति आदिवासी, जनजाती तथा तामाङ समुदाय रुष्ट बनेका हुन् । बर्तौलाले मतदातासमक्ष ‘आईरक सुङ्री, भोट तोङ्गरी होइन दिनीरी’ अर्थात् ‘रक्सी खाएर भोट रुखमा होइन सूर्यमा’ भन्दै सम्बोधन गरेका थिए ।

ADVERTISEMENT

उनको सम्बोधनले आम आदिवासी, जनजाती तथा तामाङ समुदाय केवल रक्सीमा बिक्ने समुदाय हो भन्ने भाव झल्किने निकृष्ट शब्द प्रहार भएको भन्दै नेपाल तामाङ घेदुङ मकवानपुरले आपत्ती जनाएको छ ।

सदियौंदेखि रहेको जातीय छुवाछुत, भेदभाव, शोषणबाट मुक्तिका लागि आदिबासी जनजाती समुदायले एकत्रित भई पुर्याएकोे योगदान अनि अथक संघर्षबाट नेपालको संविधानमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुत एवम् भेदभावको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको भएपनि उम्मेदवारबाटै कुनै समुदायप्रति निकृष्ट शब्द प्रहार भएको भन्दै घेदुङले आपत्ती जनाएको हो ।

ADVERTISEMENT

‘जनताको पीर, मर्का र अप्ठेरोमा साथ दिनुपर्ने जातजाती भाषाभाषी प्रति समान भाव जगाई सामाजिक एकता कायम गर्न भूमिका खेल्नुपर्ने प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारबाटै हामी तामाङ समुदायप्रति यति सम्मको निकृष्ट सोचको कल्पनासम्म नगरिएको अवस्थामा चुनावी अभियानकै क्रममा ब्यक्त उल्लेखित भनाईप्रति नेपाल तामाङ घेदुङ संघ, मकवानपुर खेद प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

घेदुङले निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय मकवानपुर र निर्वाचन आचारसंहिता अनुगमन समितिसमक्ष बर्तौलालाई कारबाहीको मागसमेत गरेको छ । आम समुदायमाथि आघात पुग्ने यस किसिमको अभिव्यक्ति नदिन र समाजिक एकता तथा सहिष्णुता कायम राख्नसमेत घेदुङले सबैलाई आग्रह गरेको छ ।

यस विषयमा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले उम्मेदवार बर्तौलाले त्यस किसिमको सम्बोधन गर्नु आचारसंहिता विपरित हुने बताए । आचारसंहिता उल्लंघन समितिबाट अनुगमन गरी बर्तौलामाथि कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए ।


प्रकाशित मिति : शुक्रबार, २०७९ कार्तिक १८, १५ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट