Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

बागमतीका उम्मेदवारले सबैभन्दा कम खर्च गर्न पाउने


आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार बागमती प्रदेशका उम्मेदवार र दलहरूले सबैभन्दा कम खर्च गर्न पाउने भएका छन्।

ADVERTISEMENT

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्यका सबैभन्दा कम खर्च सीमा २५ लाख रुपियाँ तोकिएको छ। आयोगले तोकेको खर्चको उक्त सीमाभित्र रहेर काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३, ६, ७ र ८ का उम्मेदवारले खर्च गर्नुपर्ने आयोगले जनाएको छ।

ADVERTISEMENT

आयोगको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार दलका उम्मेदवारहरूले उक्त सीमाभित्र रहेर मात्र खर्च गर्नुपर्ने छ। यस्तै यस प्रदेशमा अधिकतम २७ लाख रुपियाँ खर्च गर्न पाउने प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रसुवा, काठमाडौँको क्षेत्र नं. २, ४, ५, ९ र १०, भक्तपुर २ र ललितपुरका तीनैवटै निर्वाचन क्षेत्र रहेका छन्।

आयोगले निर्वाचन क्षेत्रमा रहेको मतदाता सङ्ख्या, मतदान केन्द्र सङ्ख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफलका आधारमा उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको जनाएको छ। आयोगले निर्धारण गरेको खर्चको सीमा २९ लाख रुपियाँ खर्च गर्न पाउने बागमती प्रदेशका जिल्लाहरूमा नुवाकोटको क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ र चितवनको क्षेत्र नं. २ रहेका छन्।

ADVERTISEMENT

आयोगले सिन्धुली, धादिङ, सिन्धुपाल्चोक सबै निर्वाचन क्षेत्र, नुवाकोटको क्षेत्र नं. १ तथा चितवनको क्षेत्र नं. १ र ३ मा उम्मेदवारले प्रति उम्मेदवार ३१ लाख रुपियाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ। आयोगले निर्धारण गरेको सबैभन्दा बढी खर्चको सीमा अर्थात् ३३ लाख रुपियाँ खर्च गर्न पाउने उम्मेदवार तथा दलहरूमा दोलखा, रामेछाप, मकवानपुर र काभ्रेपलाञ्चोकका सबै क्षेत्रका उम्मेदवार तथा दलहरू रहेका छन्।

३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा १७ लाख ३३ हजार ३७८ महिला, १७ लाख ३८ हजार ८७ पुरुष र अन्य २७ गरी आगामी मङ्सिर ३ गते १८ वर्ष उमेर पुगेका कुल मतदाता ३४ लाख ७१ हजार ४९२ जना छन्। यस प्रदेशमा एक हजार ८१२ मतदान स्थल र चार हजार १४३ मतदान केन्द्र छन्।

सबैभन्दा बढी निर्वाचन क्षेत्र काठमाडौँ जिल्लामा १० र रसुवा, रामेछाप र दोलखामा एक÷एक, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर र सिन्धुली जिल्लामा दुई÷दुई र चितवन र ललितपुर जिल्लामा तीन÷तीनवटा प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र रहेका छन्।

यस प्रदेशमा सबैभन्दा कम मतदाता रहेको रसुवा जिल्लामा ३९ हजार ४५९ मतदाता, मतदान स्थल ३४ र मतदान केन्द्र ५२ तथा सबैभन्दा बढी मतदाता रहेको काठमाडौँ जिल्लामा छ लाख ५२ हजार मतदाता, ३२० मतदान स्थल र ७६७ मतदान केन्द्र छन्। गत स्थानीय तह निर्वाचनमा बागमती प्रदेशमा १७ लाख सात हजार ९४२ जना महिला, १७ लाख चार हजार ८९८ जना पुरुष र २९ जना अन्य मतदाता गरी ३४ लाख १२ हजार ८६९ जना मतदाता थिए।  गोरखापत्रबाट 


प्रकाशित मिति : बुधबार, २०७९ कार्तिक २, ०८ :१९ बजे
ट्याग : #आमनिर्वाचन, #चुनाव, #प्रतिनिधिसभा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट