Techie IT
Hetauda Khabar

अन्जन विष्ट र अनन्तको गोलले चर्च ब्वाइज युनाइटेडको जित


राष्ट्रिय टोलीका दुई खेलाडी अन्जन विष्ट र अनन्त तामाङको गोलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेडले २२ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । नेपाल पुलिस क्लबलाई २–१ गोलले स्तब्ध पार्दै चर्च ब्वाइज क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

१–० ले पछि परेको खेल उल्टाउँदै गत वर्ष ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइजले जित निकालेको हो । केहि दिन अघि मात्र क्लबमा आबद्ध भएका अन्जनले बराबरी र अनन्तले निर्णय गोल गरेका थिए । रवि पासवानको गोलमा पुलिसले २५ औं मिनेटमा अग्रता लिएको थियो ।

मनाङ मस्र्याङ्दी क्लब छाडेर चर्च ब्वाइज पुगेका अन्जनले ७६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि थप समयमा अनन्तले गोल गरेका थिए । थ्री स्टार छाडेर नयाँ क्लब पुगेका अन्नतले थप समयको १० औं मिनेटमा गोल गरेका थिए ।

चर्च ब्वाइजले क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसीको सामना गर्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा शनिबार साविक विजेता एपिएफ फुटबल क्लब र पहिलो खेलको विजेता धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट