हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई मुख्य कारण देखाउँदै राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले दाबी गरेका छन् ।
अध्यक्ष भण्डारीले राजीनामा पत्रमार्फत मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटक९पटक ऋण तथा अनुदानका लागि अनुरोध गरे तापनि मन्त्रालयबाट कुनै ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उनले गुनासो गरेका छन् ।
प्रकाशित मिति : आइतवार, २०८२ चैत्र १५, १३ :३८ बजे





















प्रतिक्रिया