हेटौंडा सडक विस्तार विवाद- सुनुवाई सकियो, मुद्धा थपिएकाले अपेक्षाअनुसार आदेश नआउने
हेटौंडा सडक विस्तारसम्बन्धी विवादमा दायर रिट निवेदन उपर सुनुवाई सकिएको छ । पटक पटक हेर्न नभ्याइने र नमिल्ने भन्दै स्थगित पेशी आज सातौ पटक न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा परेको थियो ।
सडक विस्तार विवादको यो मुद्धाको बहस सकिएपनि अपेक्षा गरिएअनुसारको आदेश आज नआउने भएको छ । विन्दवासिनी कंसाकार, महारत्न बज्राचार्य लगायत ३ जनाले दायर गरेको मुद्धामा एकै प्रकृतिको अर्को रिट पनि थपिएकाले उक्त मुद्धा लगाबमा राख्ने गरी मात्र आजको सुनुवाई केन्द्रित भएको छ । यसले गर्दा सडक विस्तार विवादको टुङ्गो लाग्ने किसिमको आदेश आज नआउने बहसमा सहभागी एक अधिवक्ताले हेटौंडाखबरलाई जानकारी दिए ।
आजको सुनुवाइमा विपक्षिको तर्फबाट महान्यायाधिवक्त्ताको कार्यालय र हेटौंडा उपमहानगरपालिकाका अधिवक्ताले बहस गरेका थिए ।
यो मुद्धामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; सडक विभाग पाटनढोका ललितपुर; सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर; संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं; जिल्ला प्रशासन कार्यालय हेटौंडा मकवानपुर; जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा हेटौंडा उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ।
गत मङ्सिर १६ गते दर्ता भएको यो मुद्दा यसअघि विभिन्न मितिमा ६ पटकसम्म ‘हटिसकेको’ थियो। पटक–पटक पेशी सरेपछि मुद्दाको सुनुवाइ हुन नसक्दा हेटौंडा सडक विस्तारको काम अझै अन्योलमै छ।
स्थानीयवासी र सरोकारवालाहरूले सडक विस्तार ढिलाइ हुँदा दैनिक आवतजावत, व्यापार व्यवसाय र समग्र शहरी व्यवस्थापनमा समस्या भइरहेको गुनासो गर्दै आएका छन्। आजको पेशीले मुद्दाको दिशा तय गर्ने र सडक विस्तारको भविष्यबारे स्पष्टता आउने अपेक्षा गरिएको थियो, तर फेरी अर्को मुद्धा थपिएकाले आजको आदेश पनि हेटौंडा सडक विस्तारको काम अगाडि बढ्ने वा नबढ्ने टुंगो लगाउने खालको नआउने भएको छ ।
प्रकाशित मिति : सोमवार, २०८२ माघ १२, १५ :४४ बजे




















प्रतिक्रिया