Techie IT
Hetauda Khabar

विरोध खतिवडाको अपराजित यात्रामा लाग्यो पूर्ण विराम


संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेताहरूमध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

२०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका खतिवडा ३१ वर्षपछि राेकिएका हुन् । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा थिए खतिवडा । पहिलोपटक उनी २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी भएका थिए । जिल्लामा कम्युनिस्टहरूको रापताप बढ्दै गइरहेका बेला उनले जित्न थालेका थिए ।

त्यसपछि २०७४ सम्म आइपुग्दा पनि खतिवडाले चुनाव जितिरहे । उनले चुनाव मात्रै जित्दै आएका थिएनन्, उठेकामध्ये कुनै पनि निर्वाचन नहार्ने थोरै नेताहरूको रेकर्डमा नामसमेत लेखाएका थिए । खतिवडाले हालसम्म चार वटा निर्वाचन जितेका छन् । उनी २०४८, ०५१, ०५६ र ०७४ मा गरी चार पटक चुनिए । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा-व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् ।

तर, पाँचौँ पटकको प्रयासमा भने उनको अपराजित चुनावी यात्रामा रोक लाग्यो । खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लगाउने पनि उनकै राजनीतिक चेला बने । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का खतिवडा र नेकपा एमालेका बर्तौला प्रतिस्पर्धामा थिए । बर्तौलाले आफ्नो पहिलो प्रयासमा खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले हराएका हुन् ।

कुल खसेको मत ८६ हजार ३ सय १ मा बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका छन् । खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए । बदर मत ४ हजार १ सय २ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे ।

विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलाेपल्ट संसदीय चुनाव लडेका हुन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट