हेटौंडामा ‘मिडिया’ भन्दै गलत सूचना र अफवाह फैलाउने पेजहरु सक्रिय
हेटौंडामा सामाजिक सञ्जाल फेसबुक पेज ‘रुटिन अफ हेटौडा’ नामको फेसबुक पेजले संवेदनशील ठाउँमा अनाधिकृत प्रवेश गरी मिथ्या सूचना तथा अफवाह फैलाउने गरेको छ।
हेटौंडाबाट सञ्चालन हुने भनिएको यो पेजले विभिन्न सरकारी कार्यालय तथा अस्पताल जस्ता संवेदनशील स्थान भित्र छिरी गलत तथा अफवाहपूर्ण सूचना फैलाउने गरेको छ। केही दिन अघि जिन्जीको प्रदेश संयोजकहरु भन्दै केही युवा हेटौडा स्थित हेटौंडा अस्पताल पुगेको थियो। त्यसै क्रममा रुटिन अफ हेटौडा नामको पेजले केही भिडियो सामग्री बनाएको थियो।
त्यसपछि हेटौडा अस्पतालको आकस्मिक कक्ष छेउमा रहेको ‘प्रोड्युसर रुम’ ( प्लास्टर, ड्रेसीङ लगायत गर्ने ठाउँ )लाई अपरेसन थिएटर भन्दै अपरेसन थिएटरमा रगतको टाटा र अस्पतालले लापरवाही गरेको भन्दै भिडियो सामग्री पोस्ट भयो । भिडियो पोस्ट भएपछि विभिन्न टिप्पणी हुन थाल्यो, अप्रेसन थिएटर जस्तो संवेदनशील ठाउँ भिडिओमा देखिए जस्तो नहुनुपर्ने भनि अस्पताल प्रशासनसँग बुझ्ने कोसिस गर्यौ। तर उक्त भिडियोमा देखिएको अप्रेसन थिएटर नभई इमर्जेन्सी घाउचोट लागेर आएका हरूलाई ड्रेसीङ तथा घाउ सफा गर्ने ठाउँ रहेछ।
त्यस्तै यो पेजले अस्पतालको फार्मेसीमा पाइने औषधिका विषयमा समेत गलत सूचना फैलाएको छ। बीमाबाट पाउने एक औषधि र औषधि खरिद गरेको बिल समेत पोस्ट गर्दै बाहिर कम मूल्यमा पाइने औषधि अस्पतालमा बढी मूल्य तिर्नुपर्ने भन्ने आशयको फोटो पोस्ट गरेको थियो।
तर उक्त औषधि राष्ट्रिय बिमा बोर्डले नै मूल्य तय गरी बिक्री हुने औषधि हो। जुन औषधि अस्पतालले खरिद बिक्री गर्ने भित्र पर्दैन । तर यो पेजले सरकारी अस्पतालमा बाहिरभन्दा महँगो रुपैयाँ तिर्नुपर्ने भनी अफवाहपूर्ण सूचना फैलायो।
यस पेसले फैलाएको अफवाह कै कारण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौडा अस्पतालले विज्ञप्ति नै जारी गर्नु परेको छ। सामाजिक सञ्जालमा यस पेजले औषधिका विषयमा भ्रमपूर्ण सूचना फैलाएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त औषधि नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले तोकेको रेटका आधारमा बिक्री हुने औषधि भन्दै स्पष्टिकरण सहित पत्र सार्वजनिक गरेको छ ।
हेटौडामा यस्ता खालका अपवाह फैलाउने फेसबुक पेजहरू आधा दर्जन बढी छन्। कसले कहाँ बसेर चलाउँछ र उद्देश्य के हो भन्ने आधिकारिक कुनै नीति नभएको यस्ता पेजहरूले आम नागरिकलाई भ्रममा पार्ने गरेको छन् भने मिथ्या सूचनाले विभिन्न निकायलाई हैरान बनाएको छ।
मिडियाको आवरणमा अनाधिकृत प्रवेश गरी मिथ्या सूचना फैलाउने मिडियाबाट हो भन्दै अन्तर्वार्ता नै लिने, थोरै पनि ज्ञान नराखी हचुवाको भरमा वास्तविकतालाई तोडमोड गरी अफवाह फैलाउने यस्ता पेजलाई नियामक निकायले कारबाही गर्न जरुरी छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयले कुनै गुनासो या उजुरी आए तत्काल त्यस्ता पेजहरु नियन्त्रण गर्न सकिने बताएको छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय


















प्रतिक्रिया