सिमरा तनावग्रस्त बनेपछी कर्फ्यु आदेश जारी
बाराको जीतपुरसिमरा क्षेत्रमा मङ्गलवार दिउँसो उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनले सिमरा विमानस्थल वरपर कर्फ्यु आदेश जारी गरेको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रमको खबर बाहिरिए लगत्तै ‘जेन–जी’ युवाहरूको समूहले विरोध जनाएका थिए ।
युवाहरूले विमानस्थल चोकमा भेला भएर “शङ्कर–महेश फिर्ता जाऊ, सिमरा छोडेर जाऊ” जस्ता नारा लगाउँदै प्रदर्शन सुरु गरेका थिए । केही समयमै प्रदर्शन उग्र बनेपछि एमाले निकटका कार्यकर्तासँग हात हालाहाल र ढुङ्गा मुढा सुरु भएको थियो ।
प्रदर्शनकारीले सिमरा विमानस्थलको मुख्य गेटमा तोडफोड गरे भने अन्य संरचनामा पनि क्षति पुर्याएका छन् । प्रहरी र प्रदर्शनकारीबिच ढुङ्गा हानाहान हुँदा केही युवाहरू घाइते समेत भएको बुझिएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ ।
स्थिति थप बिग्रन नदिन बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मङ्सिर ३ गते दिउँसो १२:३० बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । गण्डक नहरदेखि पथलैया सडक खण्डको राजमार्गको दायाँ–बायाँ पाँच सय मिटर क्षेत्र र सिमरा विमानस्थलको वरिपरि पाँच सय मिटर क्षेत्रमा लागू हुनेछ । कर्फ्यु अवधिमा कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न पाइने छैन ।
जिल्ला प्रहरी कार्यालय बाराबाट ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको र घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय


















प्रतिक्रिया