हेटौंडाको नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयको लापरबाही, परिक्षा दिई सकेपछि रद्द
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको हेटौंडा–६ गौरीटार स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा चरम लापरबाही हुने गरेको छ ।
पहिलेदेखि नै कर्मचारीहरुको मनलाग्दी, अनियमितता र शिक्षा जस्तो संवेदनशील कुरामा हदैसम्मको लापरबाहीका कारण बेलाबेला विवाद आइरहने नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा पुनः विवाद उत्पन्न भएको छ ।
शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा विद्यार्थीले परिक्षा दिएर बाहिर निस्किएपछी रद्द गरिएको छ । परीक्षामा पुरानो प्रश्नपत्र वितरण भएको पाइएपछि आइतबारको सबै परीक्षा रद्द गरिएको हो ।
केन्द्राध्यक्ष र बाह्य सहायकको लापरवाहीका कारण विद्यार्थीलाई पुरानो प्रश्नपत्र वितरण भएको बताइएको छ । पुरै समय परीक्षा दिएर बाहिर निस्किसकेपछि मात्र परीक्षा रद्द भएको जानकारी पाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । परीक्षा सकिएपछी परीक्षा रद्द गरिएको भन्दै उनीहरूले नाराबाजी गर्दै परीक्षा केन्द्र परिसरमै प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरूले आफूहरूले दिएको परीक्षालाई मान्यता दिनुपर्ने माग राखेका छन् । विद्यार्थीहरूले परीक्षा सूचनासमेत ढिलो पाएको र परीक्षा सकिएपछि मात्र परीक्षा रद्द गरिएको जानकारी दिनु अन्यायपूर्ण भएको बताएका छन् ।
घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शंकर खतिवडा माथि छानबिन भइरहेको सीटीईभीटी हेटौंडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिनुभयो ।
पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापी अन्तर्गत बीएबिएल साइन्स, एचएको इनभाइरमेन्टल हेल्थ, प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरीका परीक्षा रद्द गरिएको छ । यी विषयहरुमा ७९ जना परीक्षार्थी उपस्थित थिए ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय


















प्रतिक्रिया