Techie IT
Hetauda Khabar

बजेट कै कारण मुख्यमन्त्री किक आउट हुने खतरा, बानियाँले इन्ट्री हान्ने संकेत


बागमती प्रदेशमा मुख्यमन्त्री र अर्थमन्त्रीले एकलौटी ढंगले आफ्नो क्षेत्रमा मात्र बजेट पारेको भन्दै राजनैतिक दलले असन्तुष्ट व्यक्त गरिरहेका छन् । १० प्रतिशत कमिसनमा लागेर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट बेचेको आरोप लागिरहेको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले पनि एकलौटी ढंगले आफ्नो जिल्लामा मात्र बजेट हालेको भन्दै विरोध भइरहेको छ।

नेपाली कांग्रेस बागमतीका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लामाले हाल्नैपर्ने ठाउँमा समेत बजेट नहालेको र नहाल्नुपर्ने ठाउँमा बजेट खनाएको भन्दै कांग्रेसलगायत सत्ता पक्षले नै उनको आलोचना गरिरहेका छन् । त्यस्तै अर्थमन्त्री काफ्लेले पनि कमिसनको खेलमा आफ्ना क्षेत्रमा मात्र मनलाग्दी बजेट खनाएको आरोप लागेको छ। काफ्लेले हेटौडामा आफ्ना आसेपासेलाई बोलाएर असम्बन्धित ठाउँमा १० प्रतिशत कमिसन लिँदै बजेट बेचेको माओवादीले पनि आरोप लगाएको छ। त्यस्तै कांग्रेसभित्रै पनि कमिसन दिनेहरुलाई बजेट बेचेको भन्दै मुख्यमन्त्री र अर्थमन्त्रीको आलोचना भैरहेको छ । बागमती प्रदेश सरकारले प्रदेशको बजेट सिमित केही जिल्लामा मात्र खन्याएको भन्दै अहिले बजेटको विवाद चुलिएको छ।

प्रदेशले सार्वजनिक गरेको बजेटकै कारण बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई नै हटाउनेसम्मको योजना कांग्रेस वृत्तमा सुनिएको छ। नेपाली कांग्रेस बागमती प्रदेशमा विशेषगरी कांग्रेस वृत्तमा दुई गुट खुलेर देखिएको छ। कांग्रेसकि सहमहामन्त्री समेत रहेकी महालक्ष्मी उपाध्याय डिना र संस्थापन पक्षका नेता इन्द्रबहादुर बानियाँ गरी दुई गुट देखिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन देखि यी दुई गुटमा थप विवाद चुलिएको थियो। सहमहामन्त्री डिनाले हालका मुख्यमन्त्री समेत रहेका लामालाई संसदीय दलका नेता बनाउनुपर्ने अडान लिएकि थिइन् भने सस्थापन पक्ष इतरका केही नेताले बानियाँलाई संसदीय दलको नेता बनाउन चाहेका थिए । बानियाँ र डिना दुबै केन्द्रमा एउटै गुटमा थिए । निर्वाचनमा बानियाँलाई सस्थापन टिमले असहयोग गरेको थियो। दलको निर्वाचनका बेला नै कांग्रेसभित्र विवाद चुलिएको थियो। नेता बानियाँले उक्त निर्वाचनमा मोबाइल फोन भित्र लगि भोट हालेको फोटो खिचेर पठाउनुपर्ने भन्दै ह्विप जारी गर्न लगाएका थिए। तर त्यसो गर्दा बानियाँको भोट बढी आउने र जित्ने सम्भावना देखेपछि डीना पक्षधरले निर्वाचनमा मोबाइल फोन लान नपाउने भन्दै विरोध जनाएका थिए।

अन्त्यमा निर्वाचनका समयमा मोबाइल फोनको प्रयोग गर्न नपाउने निर्णय भएपछि बानियाँको भन्दा बढी मत लामालाई प्राप्त भएको थियो। त्यसपछि प्रदेशको मुख्यमन्त्री लामा पक्का बनेका थिए। मुख्यमन्त्री लामा बनेपछि सहममन्त्री डिनाका पक्षधरले मुख्यमन्त्रीलाई आफ्ना मानेका थिए। तर मुख्यमन्त्री बनेपछि सह महामन्त्री डीनालाई नै मुख्यमन्त्री लामाले टेर्ने गरेका थिएनन्। तर अहिले बजेटमा कांग्रेसका नेता तथा कार्यकर्ताले भनेबमोजिमको ठाउँमा बजेट नहालेपछि डीना पक्षकै नेता तथा सांसदले लामा विरुद्ध खुलेरै विरोध गर्न थालेका छन्।

उता इन्द्र बानियाँ पक्षधरले पनि पठाएको बजेट लिस्टलाई मुख्यमन्त्रीले वास्ता नगरेपछि बानियाँ पक्षधरका कांग्रेस थप रुस्ट बनेका छन्। यतिसम्म कि डीना पक्षधरकै कांग्रेस जनहरूले अहिले मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने भनी गोप्य छलफल गरिरहेको गोप्य स्रोतले जनाएको छ। स्रोतका अनुसार बजेटका विषयमा सङ्कल्प प्रस्ताव प्रदेश सभामा लैजान लागिएको बुझिएको छ। बजेट विवादकै कारण १२ गते बस्ने भनिएको प्रदेश सभाको बैठक १६ गतेलाई सारिएको छ।

यता कांग्रेसकै केही सांसद मिलेर मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नेसम्मको छलफल भैरहेको समेत स्रोतले बताएको छ। अविश्वासको प्रस्ताव लगि संसदीय दलको नेताबाट लामालाई हटाउने र मुख्यमन्त्रीबाट पदच्युत गराइदिने भनी सांसदहरुले गोप्य बैठकसमेत बस्ने गरेको स्रोतको दाबी छ। उता इन्द्रबहादुर बानियाँ समेत संसदीय दलको नेताबाट लामालाई हटाएर आफू मुख्यमन्त्री बन्ने दाउमा लागेका छन्। यसले गर्दा अहिले नेपाली कांग्रेस बागमती प्रदेशको विवाद सतहमा पुगेको छ।

त्यति मात्र होइन मुख्यमन्त्री लामा र अर्थमन्त्री काफ्लेलाई कांग्रेसका नेता सांसद र कार्यकर्ता सम्मले गाली गर्ने गरेका छन्। कमिसन लिई बजेट बेचेको भन्दै रुस्ट बनेको कांग्रेसले उनीहरूलाई अहिले सत्तो सराप गरिरहेका छन्। यतिसम्म कि केही कांग्रेसका नेता तथा कार्यकर्ता मुख्यमन्त्री र अर्थमन्त्रीकै कार्यकक्षमा गई मुखै छाडेर गाली गरेको गोप्य स्रोतले बताएको छ। केही दिनअघि हेटौडामा मुख्यमन्त्री र अर्थमन्त्रीको कार्यालयमा त त र म म नै चलेको थियो ।

उनीहरू अगाडि मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री निर्लज्ज बनेका थिए। कांग्रेसका नेता तथा कार्यकर्ताले थर्काउन थालेपछि मुख्यमन्त्री र अर्थमन्त्री दुबैले बजेटमा संशोधन गर्ने र हेरफेर गरी बजेट हालिदिने आश्वासन समेत दिएका थिए। तर उनको आश्वासनमा काङ्ग्रेस नेता तथा कार्यकर्ता विश्वस्त भएनन् ।

बजेटकै कारण मुख्यमन्त्रीको पद च्युत पारिदिने हो कि भन्ने डरमा छन् यतिबेला मुख्यमन्त्री बहादुर सिंह लामा। उता इन्द्र बानियाँ पक्षधर कांग्रेसीले पनि यही बहानामा संसदीय दलको नेताबाट हटाई बानियाँलाई नै मुख्यमन्त्री बनाउने उद्देश्यका साथ बलियो रणनीतिमा लागेको छ। अर्कोतर्फ डिना पक्षधरले रामकृष्ण चित्रकारलाई अघि सारी संसदीय दलको नेता बनाउने जमर्कोमा लागेको छ। डिना रिजाउन चित्रकार लागि परेका छन् । यसरी अहिले बागमती प्रदेशको मुख्यमन्त्री लामा र आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेलाई यो बजेट भात खाउन थाल खाउँ भनेझैं भएको छ।  आफ्नै गुटमा एक्लिएका लामालाई यहि बेलामा आउट गरेर बानियाँले इन्ट्री मार्ने अवस्था देखिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय स्तरका नेता समेतलाई बानियाँले आफ्नो पकडमा राखीसकेको काङ्ग्रेस बागमती प्रदेश सरकारका एक मन्त्रीले बताए ।

दुईपक्षको विवादले मकवानपुर काङ्ग्रेस यतिबेला गरमाएको छ। त्यति मात्र होइन कांग्रेस बागमती प्रदेश नै सरकारबाटै रुष्ट छ। अहिले बजेट बहिष्कार गरेर सरकार असफल बनाउन प्रतिपक्षी भन्दा सत्तापक्षका सासद नै अग्रसर देखिएका छन् । यही अवस्थामा इन्द्रबहादुर बानियाँ पक्ष थप बलियो हुने संकेत देखिएको छ। मकवानपुरका नेता तथा कार्यकर्ता पछिल्लो समय बानियाँको केही नचल्ने र एकलौटी अघि बढ्ने नियत रहेको भन्दै डिनापक्षलाई सघाउँदै आएका थिए। तर तिनै नेता कार्यकर्ता अहिले मुख्यमन्त्रीका कारण जिल्लाकै लागि भएपनि इन्द्रबहादुर बानियाँ नै ठिक हुन् भन्दै बोल्न थालेका छन्।

जिल्लाको विकास र बजेटका सन्दर्भमा बानियाँले विभिन्न क्षेत्रमा बजेट पुर्‍याएको र जिल्लाको विकासका लागि भएपनि लामाभन्दा बानियाँ नै ठिक भन्ने कांग्रेसीको संख्या बढ्न थालेको छ। यसो हुँदा बानियाँ शक्ति मजबुत हुने आँकलन गर्न थालिएको छ। बजेट विनियोजनमा सन्तुलन कायम गर्ने मामलामा इन्द्रबहादुर बानियाँ नै ठिक रहेको एक कांग्रेस नेताले बताए । कमिसनमा बजेट बेच्ने हालका मुख्यमन्त्री र अर्थमन्त्रीको तुलनामा बानियाँले विकास बुझ्ने गरेको र प्रदेशका लागि बानियाँ नै ठिक रहेको उनले बताए । आफ्नो हठ र एकलौटीपना बिर्सिएर सम्पूर्ण कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाए बानियाँको पक्षमा नेता तथा कार्यकर्ता थप उभिने उनको तर्क छ।

यसलाई आधार मान्ने हो भने प्रदेशमा फेरि इन्द्रबहादुर बानियाँ नै संसदीय दलको नेता चयन भई मुख्यमन्त्रीमा इन हुने कुरा नकार्न सकिँदैन। अर्कोतर्फ बानियाँका विपक्षमा रहेका सांसदहरुले पनि मुख्यमन्त्रीलाई किक आउट गरी संसदीय दलमा चित्रकारलाई इन गराउने रणनीति समेत बनाइरहेका छन्। यसमा कसको पल्ला भारी हुने हो या मुख्यमन्त्री लामाले सम्पूर्ण कांग्रेस र अन्य दललाई समेत मिलाएर अघि बढ्छन् त्यो भने मुख्यमन्त्री लामाको हातमा छ।

गएको निर्वाचनमा महालक्ष्मी उपाध्याय डिनालाई हराएर राप्रपाका दीपकबहादुर सिंहलाई भोट हालेको भनि कांग्रेसका एक पक्ष निकै नै रुष्ट छ। कांग्रेस मकवानपुरका बलिया मानेका नेता आनन्दराम पौडेल समेत डीनाकै पक्षमा उभिएका छन्। डिनालाई पटकपटक हराएको चोट नबिर्सिएका नेता कार्यकर्ता बानियाँ भन्दा आफ्नै पक्षका अन्य कुनै नेतालाई संसदीय नेता बनाउन सकिने भन्दै लागि परेका छन् । त्यसो त कांग्रेस मकवानपुरले मात्र कांग्रेस बागमती प्रदेशलाई चलाउन सक्दैन । यद्यपि सहमहामन्त्री डिना यसै जिल्लाकी भएकाले पनि डीनाले केही सांसदलाई चलाउन सक्ने र बानियाँलाई अघि बढ्न नदिने रणनीति पनि बलियो नै छ ।

मुख्यमन्त्री फेरबदलमा कांग्रेसभित्रैको किचलो र अनेक खिचडी पाकेको अवस्थामा अहिलेका मुख्यमन्त्री बहादुर सिंह लामा कतिबेला किक आउट हुने हो भन्न सकिने अवस्था छैन, तर कांग्रेस बागमती प्रदेशमा बजेटकै कारण भाँडभैलो मच्चीएको छ। यसले गर्दा बागमती प्रदेशको मुख्यमन्त्री नै परिवर्तन हुन्छन् कि भन्ने कुरालाई समेत नकार्न नसकिने अवस्था छ।  मुख्यमन्त्रीले बजेट नुवाकोटमा मात्र लगेको आरोपकै कारण जोखिममा परेका छन् बहादुर सिंह लामा । केन्द्रमा समेत देउवा निकटहरु  लामा संग रुष्ट रहेको पाइएको छ । यही मौकामा बानियाँले चौका हान्न सक्ने भए पनि बागमतीमा बहादुर बाहिरिए पनि बानियाँलाई रोक्न चित्रकार अघि सार्ने काङ्ग्रेस निकट स्रोतले बताएको छ । महालक्ष्मी उपाध्याय डिना समेत बहालवाला मुख्यमन्त्री लामा संग रुष्ट रहेको देखिन्छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट