Techie IT
Hetauda Khabar

हेटौंडाबाट ५ किलोमिटर पर, चल्दैन ‘नेपाल टेलिकम’, नागरिक संचार सुविधाबाट वञ्चित


‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ । यो नेपाल टेलिकमको स्लोगन हो । तर यो स्लोगन बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ किलोमिटर पर गएपछि काम लाग्दैन । किनकि प्रदेश राजधानी हेटौंडाबाट जम्मा ५ किलोमिटर पर नेपाल टेलिकमको टावर आउँदैन । याे समस्या हाे, मकवानपुरगढी गाउँपालिका ५ को । हेटौंडाबाट जम्मा ५ किलोमिटर पर रहेको मकवानपुरगढी गाउँपालिका स्थित ४, ५  र भीमफेदी गाउँपालिका १ मा पर्ने केहि गाउँमा नेपाल टेलिकमको नेटवर्क नै छैन । यस क्षेत्रका नागरिक सञ्चार सुविधाबाट वञ्चित छन् । गाउँपालिकाकाको वडा नम्बर ४ को कालिखोला, ५ नम्बर वडाको पेटिटोल , सुन्दरटोल , देउराली कालिवन, भिमफेदी गाउँपालिका १ नम्बर वडाको स्याउली बजार, बुङ्दल लगायतका स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा नागरिक समस्यामा परेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मक्रान्चुलीमा रहेको नेपाल टेलिकमको टावरमा समेत समस्या हुँदा यहाँका नागरिक सञ्चार सुविधाबाट वञ्चित भएका हुन् । मक्रान्चुलीमा रहेको टावरमा ब्याकअप नहुँदा विद्युत नभएको केहीबेरमै टेलिकमको नेटवर्क समेत बन्द हुने स्थानीयले बताएका छन् ।  पालिकाको ४ र ५ नम्बर वडामा त नेपाल टेलिकमको नेटवर्क नै लाग्दैन ।

नेपाल टेलिकमलाई पटक पटक अनुरोध गर्दा समेत यस विषयमा बेवास्ता गर्ने गरेको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दाहालले बताए ।उनका अनुसार यस क्षेत्रमा टेलिकमको टावर राख्नका लागि २ वर्षअघि नै सर्वे भएको थियो । तर टेलिकमले प्रक्रिया अगाडि नबढाउँदा आजसम्म यस भेगका नागरिक सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको उनले बताए ।

हेटौँडाबाट जम्मा ५ किलोमिटरको दूरीमा पर्ने यस क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सुविधा पुग्नसकेको छैन । जसका कारण सञ्चार सुविधाबाट यस भेगका नागरिक वन्चित छन् । नेपाल टेलिकमले भने त्यस भेगमा सर्वेको काम सकिएको र चाँडै नै नेटवर्क उपलब्ध गराउने बताएको छ । खरिद प्रक्रियाबाट जानुपर्ने भएकाले ढिला भएको र तत्काल नेटवर्क स्थापना गर्नका लागि पहल गर्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले ध्यान नदिँदा सञ्चार सुविधाबाट राजधानी नजिकैको गाउँ सञ्चार सुविधा बाट अलग हुनु परेको स्थानीयको गुनासो छ भने सम्बन्धित सरकारी निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्था गरिएको उनीहरुको आरोप छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट