कानून विपरित मकवानपुरकि सिडिओको हस्तक्षेप, पत्रकारलाई समाचार संकलनमा रोक

मकवानपुरकि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ बेलाबेला विवादमा मुछिने गरेकी छिन्। मकवानपुर घर भएकी प्रजिअ श्रेष्ठलाई धेरैले मकवानपुरे चेली भनेर सम्मान गर्ने गरेका छन् ।
तर उनै सिडिओको चुरीफुरीले गर्दा जिल्लामा आएदेखि पटक पटक उनि विवादमा आउने गर्छिन । शुक्रबार त उनले जिल्ला प्रशासन परिसरमा पुगेका पत्रकारलाई सूचना संकलन मै रोक लगाइन्।
हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको विषयमा शुक्रबार नेपाली कांग्रेस मकवानपुरले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम राखेको थियो, उक्त कार्यक्रमको समाचार संकलन गर्न पुगेका हेटौंडाका संचारकर्मीलाई सिडिओको निर्देशनमा दृश्य छायांकन र समाचार संकलनमै रोक लगाइयो ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । उक्त विषयमा समाचार संकलन गर्न पुगेका संचारकर्मीलाई पनि प्रशासनले रोक लगायो ।
नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्षसमेत रहेकी भावना रिजाल (नेपाल टेलिभिजन), सदस्यद्वय गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका दर्जन पत्रकारलाई कार्यालयमा छिर्न, दृश्य खिच्न र समाचार संकलन गर्न रोक लगाइएको थियो ।
समाचार संकलन गर्न पुगेका पत्रकारलाई नै प्रशासनमा दुर्व्यवहार भएपछी मकवानपुरका पत्रकारले सिडिओले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी क्रियाकलाप गरेको भन्दै विरोध जनाएका छन् ।
जिल्ला प्रशासनले नै समाचार संकलनमा रोक लगाएपछी नेपाल प्रेस युनियन मकवानपुरले विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भत्सना गरेको छ । पत्रकारलाई कार्यालयमा छिर्न, दृश्य खिच्न नदिएको घटना प्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण भएको प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई रोक्ने, दृश्य छायंकन गर्न नदिने, बाधा पुर्याउने जस्ता गतिविधि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी क्रियाकलाप हो, उनले भनेका छन् ।
‘सार्वजनिक पद धारण गरेर नागरिकका सरोकारका विषयमा संचारकर्मीहरुलाई विभिन्न बहाना गर्दै कर्तव्य पालनामा रोक्नु नेपालको संविधान र संचार ऐन विरुद्धको गतिविधि रहेको प्रेस युनियन मकवानपुरको ठम्याइ छ। नेपालको संविधान २०७२ को धारा १७ (२) (क), १९, २७ र ३५ (४) ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ । साथै सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानले पेशागत काममा अवरोध पुर्याउने जस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेका छन्’। विज्ञप्तीमा उल्लेख छ।
उता पत्रकार महासंघ मकवानपुरका उपाध्याय ध्रुब अधिकारिले सामाजिक संजालमा लेखेका छन्, ‘समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई प्रवेश रोक लगाइनु निन्दनीय छ । प्रमुख जिल्ला अधिकारीकाे याे कदम प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप हाे । सञ्चारकर्मीलाई स्वतन्त्रतापूर्वक काम गर्न पाउने पेशागत मर्यादा र सुरक्षाको प्रत्याभूति दिनुपर्ने निकाय नै याे तहमा उत्रिनु निन्दनीय छ’ । यद्दपी पत्रकार महासंघ मकवानपुरले भने यस विषयमा कुनै प्रतिक्रिया जानेको छैन ।
पत्रकारलाई समाचार संकलनमा रोक लगाउने कार्यमा अग्रसर देखिएकी प्रजिअ श्रेष्ठ मकवानपुर आए देखि विवादित बन्दै आएकी छन् । श्रेष्ठ प्रमुख जिल्ला अधिकारी भएर मकवानपुर आएको एक महिना नबित्दै उनि बिरुद्ध सडकमा नारावाजी समेत चर्किएको थियो । बैशाख ४ गते हेटौंडामा उनि बिरुद्ध नारावाजी सहित सडक बन्द गर्ने देखि एमाले सिडिओ फिर्ता जा सम्मको नारा लगाइएको थियो ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया