हेटौंडामा करोड कुम्लाएर बेपत्ता भएका भिआइपी ठग को को हुन् ? नबिल बैंक समेत समस्यामा, बर्षौं बित्दा पनि फेला पार्दैन प्रहरी

देश चरम आर्थिक संकटको घेराबन्दीमा परेको बेला सहकारी ठगदेखि व्यक्ति ठग सम्म कै कारण यति बेला कयौँको घरवार विहीन भएको छ । श्रमिकको श्रम लुटिएको छ ।
गरिब निमुखाले आफ्ना बाल बच्चाको औषधि उपचारदेखि शिक्षाको लागि सहकारीमा जम्मा गरेको पैसा हिनामिना भएको छ । लाखौँ नागरिक घरबार बिहिन बनेका छन् ।
उता सुट बुटमा सजिएकाहरुले भने देशको अर्थतन्त्र माथि नै धावा बोलेका छन् । तर सरोकार वाला निकाय भने श्रम लुटिएका श्रमिकको पक्षमा कहीँ कतै देखिँदैन । दाम भेटे काम नत्र बदनाम भने जस्तै देखिन्छ प्रशासनिक निकाय । विगत ४ वर्ष यता हेटौंडाका भिआइपीहरु बैंक, सहकारी र व्यक्तिको पैसा हजम पारेर फरार भए पनि प्रशासनले खोजी कार्यलाई प्राथमिकतामा राखेर काम गर्न सकेको छैन ।
दैनिक जसो १ सय हाराहारीको ठगीको मुद्दा लिएर नागरिक जिल्ला प्रहरी कार्यालयको ढोकामा पुग्छन् । तर प्रशासन भने अनेकन बखेडा झिकेर पीडा माथि पीडा थप्ने गरि पठाउँछ । हेटौडा बाट एका–एक नाम चलेका भीआईपी राता–रात फरार भए, कहाँ पुगे ? कसरी लुके ? भन्ने न प्रहरी जानकार छ न पीडित पक्ष नै । हेटौंडाबाट एकाएक फरार हुने, जनताको पैसा लुट्नेहरुलाई प्रहरीले कहिले गर्ला कारवाही ? यो आम जनचासोको विषय हो ।
स्थानीयको करोडौं कुम्लाएर फरार हुनेमा पहिलो नम्बरमा छन् देवानन्द रेग्मी । हेटौंडाबाट १८ करोड बढी रकम उठाएर फरार छन् उनि । कुनै बेला हेटौंडामा आर्थिक रगरगी गरेका रेग्मीले हेटौडाका व्यापारी देखि सामान्य कामदार श्रमिक समेतको करोडौं रकम कुम्लाएर फरार भएका हुन् । टोल विकासदेखि मेयर/सांसद समेतको निर्वाचनमा खोंचे थाप्ने रेग्मी यतिबेला कुन दुलामा लुकेका छन्, अत्तो पत्तो छैन । हेटौंडा उपमहानगरपालिका २ बस्ने रेग्मी यति बेला फरार छन् । जनताको करोडौ कुम्लाएर फरार हुने सुचिमा परिचित अनुहार हो रेग्मी । रेग्मीलाई तत्कालिन समयमा प्रहरीले पक्राउ गरि अनुसन्धान गर्न सक्ने अवस्था रहेको भए पनि प्रशासनले चासो नदिएका कारण रेग्मी फरार हुन् सफल भएका थिए । रेग्मीको कारण हेटौडाका सयौको घरवार उठिवास लागेको छ ।
बैंकलाई नै टाट पल्टाउने योजनामा देखिएका अर्का फरार व्यक्ति हुन् हेटौंडा-५ शान्ति टोल बस्ने युवराज सुवेदी । हेटौंडामा चर्चित मिटर ब्याजका ग्राहकको रुपमा परिचित सुवेदीले सहकारी संस्था, नबिल बैंक देखि स्थानीय व्यापारी समेतबाट २५ करोड बढी रकम उठाएर परिवार सहित फरार भएका छन् । स्रोतका अनुसार सुवेदी परिवार सहित भारतको बाटो हुँदै दुबई पुगेको बुझिएको छ । सुवेदीले हेटौंडाका २५ जना बढीलाई बिल्ली बाठ बनाएका हुन् ।
सुवेदीले जग्गा मूल्याङ्कनमा भ्यालुएटर (मुल्यांकन गर्ने व्यक्ति) संगको मिलेमतोमा नबिल बैंक मार्फत् ९ करोड बढी रकम उठाएको कारण यतिबेला बैंक समेत समस्यामा परेको छ । सुबेदीले तत्कालिन बैंक म्यानेजर देखि बैंकका बिचौलियालाई महँगो मोबाईल,लत्ता कपडा उपहार दिएर नबिल बैंक संग सेटिङ्ग गरेका थिए । अहिले सुबेदिकै कारण नबिल बैंक समस्यामा परेको बुझिएको छ । सुवेदीले हेटौंडाका पत्रकार नेताको समेत रकम खाएर फरार भएका छन् । सुवेदीको हाल जिल्ला अदालत मकवानपुरमा ११ थान मुद्दा विचाराधीन अवस्थामा रहेको छ भने जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ९ थान र प्रहरी प्रभाग रानीपोखरीमा २ थान उजुरी थन्किएको छ ।
सहकारी र व्यक्तिको पैसा उठाएर रातारात फरार हुनेमा हेटौंडाका अर्का व्यक्ति हुन् योग्यराज सापकोटा उर्फ ‘बिदुर’ । सापकोटाले हेटौंडामा सञ्चालनमा रहेको सहारा मल्टिप्रपोज को–अपरेटिभ सहकारी संस्था देखि हेटौडाका व्यापारी/ पत्रकार समेतको पैसा उठाएर फरार भएका छन् भने उनको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ५ ओटा उजुरी थन्किएर बसेको छ । सापकोटालाई जिल्ला अदालत मकवानपुरले पक्राउ पूर्जीको अनुमति दिएको १ वर्ष बिति सक्दा समेत उनी पक्राउ पर्न सकेका छैनन ।
सापकोटा नेपाली कांग्रेस निकट तरुण विभागका केन्द्रीय सदस्य समेत हुन् । जनताको पैसा उठाएर फरार रहेका सापकोटा हेटौंडाको चर्चित मिटर ब्याजीको रुपमा परिचित अनुहार हो । स्रोतका अनुसार सापकोटा इटहरी आसपासमा लुकेर बसेको बुझिएको छ ।
जग्गाको कारोवार गर्ने गिरोह मध्ये हेटौंडाबाट करोडौ उठाएर फरार हुने मध्ये हेटौंडा ८ कमाने बस्ने ग्रिम बहादुर आले मगर उर्फ ‘सिब’ पनि एक हुन् । जग्गा मिलाई दिने भन्दै मगरले हेटौंडाका कयौको करोडौ ठगि गरेर फरार भएका छन । नगरपालिकाको कर्मचारी देखि प्रहरी प्रशासन सम्मका ब्यक्तिको करोड रकम उठाएर बेपत्ता मगरको जिल्ला अदालत मकवानपुरमा ८ थान मुद्धा प्रक्रियामा रहेको छ ।
यसरी अहिले दर्जन बढी भिआइपी ठगहरु यहाँका नागरिकलाई घरबार बिहिन बनाएर बेपत्ता भएका छन् । यी मध्ये कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । मोटो ब्याज आउने लोभमा बिना कागज ठुलो रकम ठगको हातमा परेपछी सयौंको अहिले बिल्लीबाठ भएको छ । केहीले चेक लिएपनि बाउन्स गरेर बैंकिंग कसुरको मुद्दा हालेका छन् तर पैसा दिने व्यक्ति फरार नै छन् ।
नेपाल सरकारले २ वर्ष अधि अवधि तोकेर मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । उक्त समयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडित ६० भन्दा बढीले उजुरी दिएका थिए । जसमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका पीडितबाट २६ बढी उजुरी परेका थिए । उजुरी परेपछी दुबैपक्षलाई झिकाएर छलफल गराउने भनिएपनि हेटौंडाका भिआइपी ठग भने हालसम्म नै बेपत्ता छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया