Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

कमिसनको खेलमा हेटौंडा अस्पतालका डाक्टर, आफैले बाहिर सिफारिस गर्छन् बिरामी


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका चिकित्सकहरूले कमिसनको लोभमा अस्पतालमा आएका बिरामीहरूलाई निजी स्वास्थ्य संस्थामा रेफर गर्ने गरेका छन्। अस्पतालका अधिकांश चिकित्सकले सरकारी अस्पतालमा चेकजाँच गराउन आएका बिरामीलाई ललाई फकाई बाहिर रहेका निजी क्लिनिकहरुमा पठाउने गरेका छन् ।

ADVERTISEMENT

अस्पतालका चिकित्सकले सामान्य उपचार हेटौंडा अस्पतालमा गरेपछि अन्य थप जाँचका लागि निजी अस्पताल तथा क्लिनिकहरुमा बिरामीहरुलाई रेफर गर्ने गर्दछन् । हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएपछि सेवा सेवा सुविधा थप र स्वास्थ्य सेवामा गुणस्तर थपिएको भन्दै प्रतिष्ठानले बताए पनि अस्पतालको सेवामा भने बिरामीले भरपर्दो सर्वसुलभ मूल्यमा चेकजाँच गर्न पाइरहेको अवस्था छैन।

ADVERTISEMENT

अस्पतालमा आएका बिरामीहरूले उपचार गराइसक्न ३ देखि १ हप्तासम्म धाउनुपर्ने बाध्यता अझैसम्म कायम छ। यति मात्र होइन यहाँका चिकित्सकहरु बाहिरी क्लिनिकहरूको कमिसनको खेलमा लागेर बिरामीहरुलाई चर्को मूल्यमा चेकजाँच गराउन बाध्य पारिरहेका छन् ।

हेटौंडा अस्पतालका आयुर्वेद चिकित्सक डाक्टर राम अर्यालले प्रेषण पुर्जी नै बनाएर अस्पतालमा आएका बिरामीलाई बाहिर पठाउने गरेको खुलेको छ। केही दिनअघि अस्पताल पुगेका हेटौंडाका एक बिरामीलाई भिडियो एक्सरे गर्नका लागि डाक्टर अर्यालले हेटौडा एक भिन्तुना पथमा रहेको मकवानपुर पोली क्लिनिकमा सिफारिस पत्र बनाएर पठाएका हुन् । उनी अस्पतालका आयुर्वेद फिजिसियन चिकित्सक हुन् । उनले हेटौंडा अस्पतालको ओपिडीमा आएका बिरामीलाई मकवानपुर पोलिक्लिनिकको प्रेषणपत्रमा आफ्नो नाम लेखेर उपचार गराउन पठाउने गरेका छन् ।

ADVERTISEMENT

उनले मात्र होइन अस्पतालका अन्य चिकित्सकले पनि सेटिङमा निजी क्लिनिक तथा अस्पतालहरूमा बिरामी पठाउने गरेका छन्। जसले गर्दा हेटौंडा अस्पतालमा पुगेका बिरामीहरुलाई त्यहाँ उपचार नगराई महँगो चेकजाँचमा पार्न बाध्य बनाइरहेका छन्। यसले गर्दा बिरामीलाई सरकारी अस्पतालको नाममा सरकारी चिकित्सकले नै बिरामीबाट महँगो रकम घुमाउरो पारामा असुल्ने गरेका छन्।

‘हेटौंडा अस्पतालमा उपचार गराउन एक हप्ता लाग्छ, रिपोर्ट देखाउँदा रिपोर्ट देखाएर औषधि किन्ने बेला भयो यहाँ छैन बाहिरबाट लिनुहोला भन्छन्, यस्तो हैरानी धेरै वर्ष भयो खेपेको कहिल्यै नसुध्रिने भयो’, हेटौंडा ४ का एक बिरामीले दुखेसो पोखे।

‘मदन भण्डारी प्रतिष्ठानको नाममा आएपछि त अलि सजिलो होला भनेको झन् दुःख पाइयो यहाँ पनि महँगो भएछ डाक्टरले बाहिर पठाउँछन् बाबु’, एक ८३ वर्षको वृद्धको गुनासो छुट्टै छ।

आफूलाई चिकित्सकले हेटौडा अस्पतालमा भिडियो एक्सरे गर्दा राम्रो आउँदैन ढिला हुन्छ बाहिर गर्नुस् छिटो पनि हुन्छ राम्रो पनि हुन्छ भन्दै बाहिरको रेफर कार्ड भिडाएर पठाएको बिरामीको गुनासो छ । उनले भने, ‘स्वास्थ्य बीमा गरिएको छ सरकारी अस्पतालमा राम्रै होला कम पैसामा होला भनेर उपचार गर्न आएको तर बिरामीलाई क्लिनिकमै पठाउँदा रहेछन् सरकारी अस्पतालको के काम भयो र ?

सरकारी चिकित्सकले निजीको रेफर कार्ड थमाउदै पठाउने गरेको विषयमा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई बुझ्दा उनले उक्त चिकित्सक संग बुझेर प्रतिक्रिया दिने बताए ।

यसरी सरकारी अस्पतालका चिकित्सक नै कमिसनको खेलमा लागेपछि बिरामीले थप सास्ती भोगिरहेका छन् भने उपचारका लागि निजी क्लिनिक धाउन बाध्य बनिरहेका छन्। अर्कोतर्फ हेटौंडा अस्पतालमा आएका बिरामीहरूले टिकट काट्नदेखि औषधि लिँदासम्म हैरानी मात्र खेप्नुपर्दछ। सर्वसुलभ मूल्यमा छिटो सजिलो उपचार नागरिकले हेटौंडा अस्पतालबाट पाउन सकेका छैनन्।

सामान्य औषधि समेत अस्पतालको फार्मेसीमा उपलब्ध नभएपछि सो समेत निजी क्लिनिकमा बाट खरिद गर्नुपर्ने बाध्यतामा पर्छन् बिरामीहरू। तर यस विषयमा अस्पताल प्रशासन भने चुपचाप बस्ने गरेको छ।

राजनैतिक भागबण्डाबाट अस्पताल प्रशासनमा पुगेका पदाधिकारीहरू कमिसनको खेलमा लागेपछि अस्पतालविरुद्ध नै अख्तियारमा उजुरीका चाङ छन् भने नागरिकलाई परेका समस्या समाधानतर्फ लाग्नुको साटो प्रतिष्ठानका कर्मचारी पदाधिकारीहरु कमिसनको खेलमा लाग्ने गरेका छन्।

कर्मचारी र पदाधिकारी मात्र होइन बिरामी जाँच्ने चिकित्सक नै कमिसनको खेलमा लाग्दा हेटौडा अस्पतालमा बिरामीले सर्वसुलभ मूल्यमा उपचार गर्नबाट वञ्चित बनेका छन्। अर्कोतर्फ यहाँका चिकित्सक कर्मचारी पदाधिकारीहरू नै निजी क्लिनिकबाट कमिसन उठाउने चक्करमा बिरामीबाट नै रकम असुल्नतर्फ उद्दत छन्। तर यस विषयमा सम्बन्धित कुनै पनि निकायले ध्यान दिन सकेको छैन भने बिरामीको समस्या र मर्का ज्युँका त्यूँ छ ।


प्रकाशित मिति : आइतवार, २०८२ जेष्ठ ४, १३ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट