कारको ठक्करबाट बुबा-छोरीको मृत्यु, हेटौंडाका पोखरेल प्रहरी नियन्त्रणमा

रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी ४० वर्षीय छोरी उर्मिला देवी सहनीको मृत्यु भएको हो ।
चन्द्रनिगाहपुरबाट निजगढ तर्फ आउँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुर तर्फ गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्याालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए । मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो । सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार उर्मिलादेवीको भने दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा पठाइएको थियो । प्रहरीका अनुसार उनको पनि उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोखरेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया