Techie IT
Hetauda Khabar

मकवानपुरको सिस्नेरी हुँदै काठमाडौं–रक्सौल रेलमार्ग- लोकेसन सर्भेमा भारतले माग्यो सुझाव


मकवानपुरको भूभागबाट चल्ने काठमाडौं–रक्सौल रेलमार्गको भारतले ‘फाइनल लोकेसन सर्भे’ प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
गत १७–२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको मस्यौदा नेपालको रायका लागि भन्दै हस्तान्तरण गरेको हो । प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रुप दिनुअघि भारतले नेपालको राय मागेको हो । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागले यो प्रतिवेदन अध्ययन गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीका अनुसार प्रतिवेदन अध्ययनपछि विभिन्न विषयमा नेपालले आफ्ना राय र प्रतिक्रिया दिनेछ ।

त्यसका आधारमा प्रतिवेदनले अन्तिम रुप पाउनेछ । र, नेपाललाई भारतले फाइनल प्रतिवेदन हस्तान्तरण गर्नेछ । भारतले सो प्रतिवेदन दिएपछि भारत भ्रमणका समयमा नै रेलमार्गको निर्माण अघि बढाउन भारतसँग आग्रह गर्ने तयारी थियो । काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे १८ महिनाभित्र यो काम सकाउने गरी २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । एमओयू अनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनी मार्फत तयार गरेको हो ।

भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो ।मकवानपुरको भूमि हुँदै गुड्ने भनिएको रेलमार्ग निर्माणले गति लिएको छ । दुई देशबीचको उच्च प्राथमिकतामा परेर रेलमार्ग निर्माण भएको अवस्थामा मकवानपुरको आर्थिक र सामाजिक विकासले फड्को मार्ने देखिन्छ । प्रस्तावित रेलमार्ग रौतहट र बारासँग सीमाना जोडिएको मकवानपुरको साविक धियाल गाविस हाल बकैया गाउँपालिकाको धियाल हुँदै सिस्नेरी पुग्ने जनाइएको छ । धियाल र सिस्नेरीको बीचमा शिखरपुरसँग पनि रेलमार्ग जोडिने भएको छ । मकवानपुरबाट रेलमार्ग मात्र नभई निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि निमार्णाधीन छ ।

रेलमार्ग र फाष्ट ट्रयाक निर्माण पश्चात मकवानपुर सडक पूर्वाधारले थप सुसज्जित हुने देखिएको हो । सरकारले गत आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा काठमाडौं–रक्सौल रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डीपीआर सम्पन्न गर्ने जनाएको थियो । काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेशन सर्भे (एफएलएस) का आधारमा रेलमार्ग मकवानपुरको धियाल–शिखरपुर–सिस्नेरी हुँदै काठमाडौं पुग्ने देखिएको हो । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो ।

प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको थियो । डीपीआर प्रतिवदेन प्राप्त भएपछि आयोजनाको निर्माणको मोडालिटबिारे छलफल अघि बढ्नेछ । रक्सौलबाट आउने क्रममा रेलबाराको जीतपुर, निजगढ, मनवानपुरको शिखरपुर, सिस्नेरी हुँदै काठमाडौं आइपुग्नेछ । यसबीचमा कुल १३ वटा रेल स्टेसन रहने छन् । जसमध्ये तीन वटा स्टेशन मकवानपुरमै पर्ने भएको छ । मकवानपुरमा रेलको स्टेशन धियाल, शिखरपुर र सिस्नेरीमा हुने जनाइएको हो । रेल रक्सौल, वीरगञ्ज, बगही, पिपरा, डुमरवाना, ककडी, निजगढ, चन्द्रपुर, धियाल, शिखरपुर, सिस्नेरी, साथीखेल र चोभारमा रोकिनेछ । रेलमार्गमा भारतीय प्रकारको ब्रोडगेज प्रयोगगरिने जनाइएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट