Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा अस्पतालको बोर्ड फेर्नेलाई पक्राउको तयारी, प्रतिष्ठानको विज्ञप्तीमा गलत आरोप !


हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै आइतबार बिहान अस्पतालको बोर्ड परिवर्तन गर्नेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ

ADVERTISEMENT

हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिमा आवद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने शब्दमाथि रंग दलेर मेटाईदिएका थिए । उनीहरुले हेटौंडा अस्पतालमात्र लेखिएको अर्को बोर्डसमेत झुन्डाएका थिए । उक्त गतिविधिमा संलग्नहरुलाई पक्राउको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक स्यामु अर्यालले हेटौंडा खबरलाई बताए

ADVERTISEMENT

उनले सम्बन्धित निकायबाट आएको उजुरीको आधारमा भिडिओ र सिसि टिभी फुटेज हेर्दै पक्राउ गरिने बताए ।

उता यस विषयमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै उक्त क्रियाकलापमा संलग्नलाई कारबाहीको माग गरेको छ । आइतबार भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै गैरकानुनी कार्यको प्रतिष्ठानले घोर भर्त्सना गर्ने बताएको छ ।

ADVERTISEMENT

साथै प्रतिष्ठानले निकालेको विज्ञप्तीमा झुठो आरोप उल्लेख गरेको पाइएको छ । विज्ञप्तीमा अस्पतालको साईन बोर्डमा तोडफोड गरेको उल्लेख गरिएको छ, तर आइतबार केही युवाले अस्पतालको छतमा गई ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने शब्दमाथि रंग दलेर मेटाएको र हेटौंडा अस्पताल मात्र लेखिएको नयाँ फ्लेक्स राखेर बाहिरिएको भिडिओमा देख्न सकिन्छ । बोर्डमा तोडफोड भने गरिएको थिएन तर प्रतिष्ठानले भने बोर्ड समेत तोडफोड गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।

त्यस्तै प्रतिष्ठानले अस्पताल बचाउँ तथा सुधार अभियान समितिलाई ‘हेटौंडा अस्पताललाई पुरानै अवस्थामा रेफर गर्ने अस्पतालको रुपमा विकास गर्न तल्लीन स्वार्थ समूह’ भनेको छ । आज निकालिएको विज्ञप्तीमा प्रतिष्ठानले समितिलाई अस्पताल पुरानै अवस्थामा फर्काउने समूहको आरोप लगाएको हो । स्मरण रहोस उक्त समूहले अस्पतालमा हुने गरेका गलत कार्य, लापरबाही र उपचारमा हुने ढिला सुस्तीबारे पटकपटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने गरेको छ ।

प्रतिष्ठानले निकालेको विज्ञप्तीमा भनिएको छ,’ आज मिति २०६१ साल चैत्र ३१ गते करिब १०:३० वजे एक हुल आराजक समूहद्वारा अस्पताल परिसरमा प्रवेश गरी अस्पतालको साईन बोर्डमा तोडफोड, केरमेट गरी प्रचलित कानुनविपरीत अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने जस्ता अवान्छित र आपत्तिजनक क्रियाकलाप गरिएको घटनाप्रति यस प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ।

हाल यस प्रतिष्ठानले १०० भन्दा वढी विशेषज्ञ चिकित्सकहरुबाट दैनिक १५०० विरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउदै आएको अवस्थामा यस किसिमको गतिविधिले कसैलाई फाईदा नपुगी हेटौंडा अस्पताललाई पुरानै अवस्थामा रेफर गर्ने अस्पतालको रुपमा विकास गर्न तल्लीन स्वार्थ समूहहरुलाई मात्र फाईदा पुग्ने देखिन्छ। स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो र यस्ता गतिविधिले अस्पतालमा उपचार गराइरहेका विरामीहरू, स्वास्थ्यकर्मीहरू तथा सम्पूर्ण सेवाग्राहीमा त्रास, अन्योल र असुरक्षा उत्पन्न गरेको छ। यस प्रकारको गैरकानुनी कार्यको प्रतिष्ठान घोर भर्त्सना गर्दछ,’।

यता अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नुपर्नेमा नेकपा एमालेबाहेकका सबै राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

यता अस्पतालले भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पताल भनि बोर्ड राखेको थियो । एकातिर नेपाल सरकारको लोगो र अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो रखिएपछी यस विषयमा पुनः विवाद निस्किएको हो । अदालतको फैसला अगावै अस्पतालले हेटौंडा अस्पताललाई प्रतिष्ठान संग जोड्न कानुन सम्बद नहुने जानकारहरुको भनाई छ ।

समितिले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्नुपर्ने, अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका माग राख्दै नागरिक हस्ताक्षर अभियान, मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणलगायतको कार्यक्रम गरिरहेको छ ।


प्रकाशित मिति : आइतवार, २०८१ चैत्र ३१, २० :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट