Techie IT
Hetauda Khabar

हेटौंडामा एमालेबाट निर्वाचित पूर्व वडा सदस्यसहित ५० जना काँग्रेसमा प्रवेश


हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमाले पार्टीको तर्फबाट निर्वाचित पूर्व वडा सदस्यसहित ५० जना युवा कार्यकर्ता सोमबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

एमालेबाट वडा सदस्य निर्वाचित सोमलाल स्याङ्तानसहित ५० जना नेता कार्यकर्ता नकौलीमा आयोजित एक कार्यक्रमबीच काँग्रेस पार्टी प्रवेश गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा स्याङ्तान वडा सदस्य निर्वाचित भएका थिए । उनी स्थानीय बाराही आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत हुन् ।

नेपाली काँग्रेस १ नम्बर वडा इकाइ समितिका सभापति हरिकृष्ण महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले टीका तथा खादा लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्दै पूर्व वडा सदस्य स्याङ्तानले नेकपा एमाले पार्टीमा लागेर गाउँको विकास गर्ने आफ्नो ठूलो धोको भएपनि पार्टीकै नेताहरु नै अवरोध भएपछि आफूले पार्टी परित्याग गरेको बताए ।

उनले आफू सत्य र विकासको बाटोमा हिँड्ने व्यक्ति भएको भन्दै उनले जनतालाई झुटो बोलेर भुलभुलैयामा राख्ने एमाले पार्टीमा लागेर हिँड्न नसकेको बताए । जनतालाई दुःख पर्दा एमाले नेता कहिल्यै जनताको घरमा नपुग्ने तर, चुनाव आएपछि भोट माग्दै विभिन्न आश्वासन बाँड्दै आउने गरेकोमा उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा स्याङ्तानसहित नवराज भ्लोन, अमर भोम्जन, छेवाङ भोम्जन, बिजय थिङ, लक्ष्मीमाया भोम्जन, सोमलाल मोक्तान, रवीन्द्र बल, देवेन्द्र बल, कृष्ण बललगायत वडास्तरीय नेताहरु टीका लगाएर काँग्रेस प्रवेश गरेका थिए ।

नगर सभापति उत्सव इटेनीले पछिल्लो समय काँग्रेस पार्टीमा जनताको आकर्षण बढेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझै काँग्रेस पार्टीलाई जनमुखी बनाउनेमा ढुक्क हुन आग्रह गरे । काँग्रेस पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित सम्मानसहित पार्टीमा जिम्मेवारी दिने बताउँदै उनले आगामी निर्वाचनमा सक्रिय भएर गठबन्धनलाई जिताउन लाग्न आग्रह गरे ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट