Techie IT
Hetauda Khabar

निर्वाचन आयोगको निर्देशन: आचारसंहिता उल्लंघन गरे कारबाही


निर्वाचन आयोगले कात्तिक १७ अघि आचारसंहिताको व्यवस्थाअनुसार प्रचारप्रसारका कार्यक्रम नगर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिताको दफा १३ बमोजिम मतदान हुने दिनभन्दा १७ दिन अघिसम्म निषेध गरिएकाले प्रचारप्रसारका गतिविधि नगर्न बुधबार आयोगले राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको हो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको १७ दिनअघि (कात्तिक १७ गतेसम्म) राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताले निषेध गरेका प्रचारप्रसारका कार्यक्रम गरे कारबाही गर्न सक्ने बताएका थिए। आचारसंहिताअनुसार राजनीतिक दल र उम्मेदवारले कात्तिक १७ सम्म जुलुस, आम सभा, कोणसभा र गोष्ठीलगायत कार्यक्रम गरी चुनावी प्रचारप्रसार गर्न पाइँदैन।

त्यस्तै घरदैलो कार्यक्रम गर्दा २५ जनाभन्दा बढी बाजागाजासहित जान नपाइनेबारे स्मरण गराउँदै आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयनका लागि सातबुँदे निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा गर्न र झाँकी लान नहुने व्यवस्था छ।

त्यस्तै सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधनस्रोत तथा जनशक्तिको उपयोग नगर्ने आयोगको निर्देशनमा उल्लेख छ। लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्नेलगायत कार्य भएको पाइएको बताउँदै आयोगले सातबुँदे निर्देशन दिएको सहप्रवक्ता ऋषिराम भुसालले बताए।  नागरिक दैनिकमा समाचार छापिएको छ


क्याटेगोरी : समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #चुनाव, #प्रतिनिधिसभा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट