Techie IT
Hetauda Khabar

हेटौंडाको सहकारी अस्पताल अबैधरुपमा संचालन, न्युनतम मापदण्डसमेत छैन पुरा, भवन जोखिमपूर्ण !

२५ को अनुमती लिएर ५० भन्दा बढी शैया संचालन, पहुचका आधारमा नवीकरण


हेटौंडा उपमहानगरपालिका-१ स्थित मकवानपुर सहकारी अस्पताल अबैध रुपमा संचालन भैरहेको पाइएको छ ।

अस्पतालले संचालन अनुमतिको सामान्य मापदण्डसमेत नपुर्याई संचालन भैरहेको खुलेको हो । अस्पताल जस्तो संबेदनशील क्षेत्रमा पहुचका आधारमा नीति नियमको उल्लङ्घन गर्दै अबैधानिक रुपमा अस्पताल संचालन भैरहदा पनि सम्बन्धित निकाय भने मौन देखिएको छ ।

२५ शैयासम्मको स्वीकृति लिएको अस्पतालले अबैध रुपमा ५० शैया भन्दा बढी राखेर संचालन गरेको पाइएको हो । त्यस्तै प्रदेश स्वास्थ्य सेवा नियमावली २०७६ को स्वास्थ्य सस्था संचालन मापदण्ड विपरित चलेको पाइएको छ । थोरै शैयाको अनुमती लिएर २ गुणा बढी शैया संचालन गर्दासमेत सम्बन्धित निकाय स्वास्थ्य कार्यालय भने मौन बसेको छ ।

त्यती मात्र होइन  सहकारी अस्पतालको भवनपनि पूर्वाधार मापदण्ड अनुसारको नरहेको पाइएको छ । स्वास्थ्य सेवा नियमावलीमा उल्लेख भए अनुसारको मापदण्ड अस्पतालले पुरा गरेको छैन । सबै भन्दा महत्वपूर्ण कुरा त अस्पतालमा बिरामी राख्ने आकस्मिक कक्ष, ओपिडी र अन्य कक्षहरु कुनैपनि मापदण्ड अनुसारका छैनन् । अस्पतालका कोठाहरु अस्पतालका लागि उपयुक्त छैनन् भने बिमारीले उपचारका क्रममा सास्ती भोगिरहनु परेको छ ।

यो हेर्नुहोस प्रदेशको स्वास्थ्य सेवा नियमावली 

यस नियमावलीमा भएका कुनैपनि कुरा मकवानपुर सहकारी अस्पतालले पुरा गरेको छैन । सामान्य मापदण्डसमेत पुरा नगरी सहकारी अस्पताल संचालन भैरहेको छ भने त्यसको मार आम बिरामीले खेपिरहेका छन् । अस्पतालको आकस्मिक कक्ष निकै साघुरो छ । जसले गर्दा बिरामीलाई सास्ती भैरहेको छ । कुल शैया क्षमताको १० प्रतिशत आकस्मिक कक्षका शैयाहरु हुनुपर्ने र शैयालाई पाँच प्रकारमा वर्गीकरण गरेर राख्नुपर्ने प्रावधान भएपनि वर्गीकरण त कुरै छाडौं निकै साघुरो एउटा कोठामा बिरामीलाई राख्ने गरिएको छ ।

त्यस्तै अस्पतालमा अल्ट्रासाउण्ड,एक्सरे, इमेजिन सेवा, प्रयोगशाला, ओपिडीलगायतमा सजिलै बिरामी ल्याउन, लानको लागि सहज व्यवस्था हुनुपर्दछ । तर यस अस्पतालमा यस्तो कुनैपनि सुविधा छैन । जसका कारण बिरामीलाई ओहोरदोहोर गराउन निकै सास्ती हुने गर्दछ । यतिसम्म कि बिरामीका लागि ह्विल चियर,ट्रलीलगायत लाने ठाउँ त परै जावोस, भर्याङ समेत सामान्य मान्छे पनि लड्ने खालको जोखिमयुक्त भर्याङ छ ।

अस्पताल भवन जोखिमपूर्ण 

मकवानपुर सहकारी अस्पतालको भवन निकै जोखिन्पूर्ण रहेको छ । गएको ०७२ सालको भूकम्पले भवन अधिकांस रुपमा चर्किएको थियो तर यसको पुननिर्माण नगरी अस्पताल त्यसैमा संचालन भैरहेको छ । यो आम नागरिकका लागि अर्को ठुलो जोखिम बनेको छ । निकै लामो समयसम्म चर्किएको भवन त्यसै छाडिएकोमा केहिसमय अघि रंग रोगन गरी चर्केको भाग अस्पतालले छोपेको छ ।

अस्पताल सेवा संचालन गरिने भवनको नक्सा र डिजाइन भवन ऐन २०५५ को दफा ११ बमोजिम हुनुपर्ने प्रावधान भएपनि सहकारी अस्पताल भवन संहिता अनुसार रहेको छैन । त्यस्तै सर्वसाधारणको जानकारीका लागि डिजास्टर म्यानेजमेन्ट प्लान तयार गरी सुरक्षा सम्बन्धि संकेत राख्नुपर्नेमा अस्पतालले भवनको त्यस्तो कुनै जांच र कुनैपनि भवन सम्बन्धि मापदण्डको स्वीकृति लिएको छैन ।

त्यस्तै अस्पतालका कोठाहरु कुनैपनि मापदण्ड अनुसार नरहेको पाइएको छ । अस्पतालका कोठामा भेन्टिलेसन, वातानुकुलित यन्त्र राख्नुका साथै कुल निर्माण क्षेत्रफ़ल् ५५ वर्ग मिटरका दरले हुनुपर्ने छ । त्यस्तै ह्वीलचियर, ट्रली सजिलै आवतजावत गर्न मिल्ने, प्रतिक्षालय, पार्किङ,खानेपानीलगायत थुप्रै मापदण्ड अस्पतालले पुरा गरेको छैन । त्यस्तै बहिरंग विभागको प्रत्यक कोठाको क्षेत्रफ़ल् १४ वर्ग मिटरको हुनुपर्ने प्रावधान छ, तर यस अस्पतालमा भने निकै साना,साँघुरा र बिरामी कुरुवासमेत बस्न नमिल्ने कोठाहरु रहेका छन् ।

यस्ता थुप्रै मापदण्डमा सामान्य कुराहरुसमेत पुरा नगरी अबैधरुपमा मकवानपुर सहकारी अस्पताल निर्वाद रुपमा संचालन भैरहेको छ । जसले गर्दा यहाँ उपचार गराउन आउने बिरामीलाई सास्ती भैरहेको छ भने भवन जोखिमपूर्ण छ । सरकारको नियम विपरित संचालन अनुमति अनुसारको क्षमता भन्दा बढी शैया संचालन गरेको छ । तर यसबारे सम्बन्धित सबै निकाय मौन बसेको छ ।

मकवानपुर सहकारी अस्पतालले गैरकानुनी रुपमा क्षमता भन्दा बढी शैया संचालन गर्दा, भवन तथा अन्य अधिकांस मापदण्ड पुरा नगर्दासमेत स्वास्थ्य कार्यालयले भने अस्पताल नवीकरण गरेको पाइएको छ । मापदण्ड अनुसार नरहेको अस्पताललाई सम्बन्धित निकायले के आधारमा संचालन गर्न अनुमति दिईरहेको छ ? यो विषय शंकास्पद देखिएको छ । यसबारे हामी निरन्तर फलोअप गर्नेछौं ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #अबैध, #मकवानपुर सहकारी अस्पताल, #स्वास्थ्य कार्यालय, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट