Techie IT
Hetauda Khabar

बागमतीको सभामुखका लागि ३ जनाको उम्मेदवारी


बागमती प्रदेशको सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।

सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो भने शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख पदका लागि मत विभाजनको समय निर्धारण गरिएको छ ।

बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइको प्रस्ताव र गीता काफ्लेको समर्थनमा सायजुले पहिलो नम्बरमा मनोनयन दर्ता गरेकी हुन् । उनी भक्तपुरबाट नेमकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन् ।

कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा अधिकारीले मनोनयन दर्ता गरेका हुन् । उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद चुनिएका हुन् ।

एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलाल ‘शरद’को समर्थनमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका पाठकले मनोनयन दर्ता गरेका हुन् ।

सभामुख पदका लागि भोलि बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र भोलि ११ बजेको बैठकमा मत विभाजन हुनेछ ।

‘सभामुखको लागि ३ जनाको उम्मेदवारी परेको छ । सबैको उम्मेदवारी कायम भएको छ । भोलि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘सोही बैठकमा सभामुख पदका लागि उम्मेदवारी दिएकाहरुबीच मत विभाजन हुने कार्यसूची छ ।’

प्रदेशसभाका बहुमत सांसदहरुको हस्ताक्षर सहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने जनाइएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट