Techie IT
Hetauda Khabar

मुख्यमन्त्री बन्ने बानियाँ र लामाको सपना अधुरै


बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल रहेर पनि नेपाली कांग्रेस अब सत्ता बाहिर रहनुपर्ने भएको छ । ३७ सांसदसहित प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको कांग्रेसले केन्द्रमा बनेको नयाँ समीकरण अनुसार अब प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने भएको हो ।

केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायतका दल मिलेर सरकार गठन गरेसँगै प्रदेशहरूमा पनि सोही अनुसारको समीकरण बन्ने भएको हो । प्रदेशसभामा एमाले–माओवादीसहितका दल सम्मिलित नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने भएपछि कांग्रेसबाट मुख्यमन्त्री पदमा दाबी गर्दै आएका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाको सपनामा ब्रेक लागेको छ ।

संसदीय दलको नेताको रेसमा रहेका ती दुई नेता मुख्यमन्त्री बन्ने दाउमा थिए । प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको कांग्रेसको २५ प्रत्यक्ष र १२ समानुपातिकमा गरी ३७ प्रदेशसभा सदस्य छन् । संसदीय दलको नेताको रेसमा रहेका दुवै नेताहरू कांग्रेस संस्थापन पक्षका हुन् ।

संसदीय दलको नेता बन्ने कसरतमा रहेका लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए । निर्वाचनको टिकट वितरणको समयमा लामा प्रतिनिधिसभा सदस्य पदका लागि दाबी गरिरहेका थिए । नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य पदमा दाबी गर्दै आएका उनलाई कांग्रेसको आन्तरिक विवाद समाधान गर्न मुख्यमन्त्रीको अफरसहित प्रदेशसभा सदस्य पदमा प्रतिस्पर्धा गराइएको थियो ।

यता प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्री बन्ने उनको पटक पटकको प्रयास असफल भएको थियो ।

केही समय अघि मात्र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकारमा उनी मुख्यमन्त्री पदका मुख्य दाबेदार थिए । सो समयमा पहिलो चरणमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई सघाउने र दोस्रो चरणमा कांग्रेसबाट बानियाँ मुख्यमन्त्री बन्ने लिखित सहमति समेत भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदा उनी मुख्यमन्त्री बन्न सकेनन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट