Techie IT
Hetauda Khabar

हेटौंडाको सहिद स्मारकमा हरिवंश आचार्यले फहराए जिल्लाकै अग्लो झन्डा


हेटौंडा,७ फागुन । मकवानपुरको हेटौंडा स्थित सहिद स्मारकमा जिल्लाकै अग्लो झन्डा फहराइएको छ ।

स्मारक विकास समितिले प्रजातन्त्र दिवसको अवसर पारेर ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो झण्डा फहराएको हो ।

सोमबार राष्ट्रिय कलाकार हरिवंश आचार्यले स्मारक परिसरमा झण्डाको उद्घाटन गरेका हुन् । उनले प्रदेशको राजधानी हेटौंडाको मुख्य पर्यटकीय स्थल सहिद स्मारकमा प्रजातन्त्र दिवसको अवसर पारेर झण्डोत्तलन गर्न पाएकोमा खुसि व्यक्त गरे । उनले ६५ वर्षको उमेरमा ६५ फिटको झण्डा फहराउन पाउनुलाई ठूलो अवसरका रुपमा लिएको बताए ।

कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेलले ३ करोड नेपालीले रुचाएको व्यक्तिबाट ३ करोड नेपालीको राष्ट्रिय झन्डा फहराइएको बताए । उनले स्मारक बागमती प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट पार्कका रुपमा विकास हुँदै गएको भन्दै यहाँ विदेशबाट समेत पर्यटकहरू आउने गरेको बताए । उनले स्मारक सबैको साझा भएको समेत बताए ।

स्मारक परिसरमा राखिएको उक्त झण्डा जिल्लाकै सबैभन्दा ठुलो र अग्लो रहेको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताए । स्मारकमा छिमेकी देश भारतबाट समेत पर्यटकको निकै आवागमन हुने हुँदा राष्ट्रिय झन्डा फहराउँदा सकारात्मक सन्देश जाने बताए । साथै आजैबाट स्मारक परिसरमा दैनिक बिहान १० बजे राष्ट्रिय गान बजाउने कार्यको समेत शुभारम्भ गरिएको उनले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौँडा–११ का वडाअध्यक्ष जुना दाहाल, ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति थियो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट