Techie IT
Hetauda Khabar

एचआइभीले टुहुरा बनेका मकवानपुरका कृष्ण


अनिष चौलागाई

हेटौंडा, मंसिर १५। हेटौंडा १८ का कृष्ण(नाम परिवर्तित) करिव ५ वर्षका थिए । जव उनले पहिलो पटक आफुलाई एचआइभी भएको कुरा साथी भाइ र छिमेकबाट थाहा पाए । जन्मदै एचआइभी संक्रमीत भएर जन्मिएका उनलाई सानैदेखि घाउ खटिराले दुख दिइरहन्थ्यो । छरछिमेक र आफन्तले आफ्ना सन्तानसंग उनलाई संगै नखेल्न भन्दा उनले सानै उमेरमा एचआइभी भएकै कारण भेदभाव र हेय सहन पर्यो ।

कतिसम्म भने ४,५ कक्षामा सामाजिक पढाउने शिक्षिका उनी अझै याद गर्दछन् । उनै शिक्षिकाले आफ्नो साथीहरुलाई संगै खेल्न नदिएको,एचआइभी लागेको भन्दै नराम्रो व्यवहार गरेको उनी अझै याद गर्दछन् । “म गणितमा जान्ने थिए,त्यही म्यामले पछि गणित पढाउन थालेपछि विद्यालय नै छाडे । पढ्नै मन लागेन ।”,उनी भन्छन् । एचआइभी भएकै कारण सहने अपहेलनाको लामै लिस्ट उनीसंग छ । आफ्नै फुपु र भिनाजुले भाइहरुलाई माया गर्न समेत नदिएको उनी स्मरण गर्छन । सानोमा मसंग खेल्न दिदैन थिए । रोग सर्छ भनेर गालामा माया गर्दा झन्डै कुुटाइ खाएको उनी अझै सम्झन्छन् ।

एचआइभीकै कारण उनले ६ महिनाको हुदाँ बुबा गुमाए । भारत कामको सिलसिलामा गएका कृष्णका बुबा एचआइभी संक्रमित भएर फर्किए । “बुबाले ममीलाई पनि एचआइभी सार्नु भएछ ।” उनले भने,”बुबा पछि ममि पनि ३ वर्ष अघि एचआइभीकै कारण वित्नु भयो । अहिले म घरका एक्लै छु ।”

पढ्दा पढ्दै ६ कक्षाबाट पढाइ छाडि कृष्ण काठमान्डौ गए । पछि उनले विभिन्न संस्थाको सहयोगमा पढे । अहिले उनले कक्षा १२ पास गरेका छन् । गाउँमा उनी प्रतिको व्यवहार केहि सकारात्मक हुँदै गएको छ । तर उनीसंग एचआइभी संक्रमित भएकैले भोगेको अपहेलना विभिन्न रहेको छ ।

एचआइभी संक्रमितले घर र घर बाहिर मात्र हैन स्वास्थ्य संस्थामा समेत अपहेलना सहन पर्दछ । केहि बर्षअघि कृष्णको गाउकै स्वास्थ्य केन्द्रमा डाक्टर स्वास्थ्य जाचको लागि आए । उनी पनि आफ्नो चेकअपको लागि त्यहा पुगे । सबैकुरा सामान्य नै थिए । उनी एचआइभी संक्रमित भएको जव डाक्टरले थाहा पाए उनी तर्सिय । पहिलै भन्न पर्दैन ? मलाई सर्न सक्थ्यो । भन्दै डाक्टर झस्किए । कृष्णलाई त्यस अवस्था बुझ्नै सकेनन् । एचआइभी संक्रमित भएको थाहा पाएपछिको डाक्टरको व्यवहारले उनी निराश भए ।

हाल उनी समस्यामा परेको बताउँछन् । “मलाई संक्रमण छ, हरेक दिन औषधि खानुपर्छ,” कृष्णले भने, “डाक्टरले पौष्टिक आहार खानु भन्छन्, मसँग पौटिक आहार केही छैन ।” संस्थाले र सरकारले दिने सहयोगमा उनी बाचेका छन् । थोरै जग्गामा एक्लै खेतिपाति गर्दछन् ।

हाल उनी २२ वर्षका भए । आमाबुबा दुबै गुमाउँदा उनलाई मानसिक पिडा थपिएको छ । एकपटक आत्महत्याको कोसिस समेत गरेको उनी बताउछन् । “एक्लै भएपछि बाच्न मन नहुने रहेछ ।” कृष्ण बताउछन् । हाल उनी विभिन्न संस्थाको सहयोगमा काउन्सेलिङ गरिरहेका छन् । उनलाई अझै अध्ययन गर्न मन भएको बताउछन् । “पढ्न मन छ । काम पाइदैन। खाज्दै छु । काम पाए राम्रो हुन्थ्यो ।,” कृष्ण बताउछन् ।

हाल उनी एचआइभी/एड्सविरुद्धको औषधि एआरटी सेवन गर्दै आइरहेका छन् । यो औषधि दैनिक एउटै समयमा खानुपर्छ । एक दिन पनि छुटाउन हुँदैन । मकवानपुरमा हाल कृष्ण जस्तै नियमित औषधी सेवन गर्ने २ सय ९८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क छ ।

मकवानपुरमा २०७० सालदेखि हालसम्म एआरटी सेवन गर्ने ४ सय ८० जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५ हजार ६ सय ४८ गर्भवतिमा एचआइभी जाच गरिएकोमा १ जना पोजेटिभ देखिएका छन् । भने चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म २ हजार ८ सय २८ जनामा जाच गरिएकोमा १ सुत्केरीमा पोजेटिभ देखिएको छ ।

नेपालमा हाल ६१ जिल्लाका ८५ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम (पिएमटिसिटी) गर्न समुदायमा आधारित पिएमटिसिटी कार्यक्रम सञ्चालनमा छ । यसअन्र्तगत प्रसूति केन्द्रहरूमा गर्भवतीमा एचआइभी निःशुल्क जाँच सुविधा छ । देशका ७७ वटै जिल्लामा अवस्थित स्वास्थ्य संस्थाहरूबाट एचआइभी परामर्श तथा परीक्षण केन्द्र रहेका छन् ।

आज (शुक्रबार) ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट