Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको विकट कैलाशमा सडक सञ्जाल विस्तार हुँदै


हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्न र विभिन्न वडाहरुमा सडक सञ्जाल विस्तारको लागि सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । कैलाश गाउँपालिका, प्रदेश र संघीय सरकारकोसमेत बजेटबाट सडक निर्माण तथा स्तरोन्नतिको लागि कामले निरन्तरता पाइरहेको छ ।

ADVERTISEMENT

कैलाश गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गत विभिन्न खण्डमा सडक स्तरीकरणको काम जारी रहेको छ भने थाहा नगरपालिकाबाट कैलाश गाउँपालिकाका विभिन्न वडा हुँदै धादिङ जोड्नको लागि गैरीगाउँ, गोगने पकने डाँडाखर्क सडक निर्माणको लागि ठेक्का आह्वान गरिएको छ ।

ADVERTISEMENT

गैरीगाउँ–डाँडाखर्क सडकको लागि सडक विभागले केही समयअघि मात्रै ४० करोड रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको छ । यस्तै ५ र ६ नम्बर वडाका नागरिकलाई गाउँपालिका केन्द्र कालिकाटारसम्म आउन छोटो दुरीको सडक निर्माण गर्नको लागि गाउँपालिकाले गोगने– कालिकाटार सडक निर्माणको लागि केही समयअघि मात्रै ठेक्का आह्वान गरेको छ । सो सडक निर्माणको लागि गाउँपालिकाले एक करोड ३७ लाख रुपैयाँ बजेट अनुमान गरेको छ । यस्तै सालबास– सानो डाँडाखर्क–छ्याङदुङ सडक निर्माण र क्रिश्चियन चोकदेखि मर्याङकोट खोला सडक स्तरीकरणको लागि पनि ठेक्का आह्वान भइसकेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।

चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गतको नामटार–खुमलटार सडक स्तरीकरणको काम करिब अन्तिम चरणमा रहेको छ । माटो कटिङ, ग्याबिन वाल, स्टोन मेशिनरीलगायतको काम गर्न ३ करोड ९४ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेकोमा धमाधम काम भइरहेको छ । ‘संघ प्रदेश र स्थानीय सरकारको समपुरक योजनाअन्तर्गत ठेक्का लगाइएकोमा यस खण्डमा ३ किलोमिटर स्तरीकरण हुनेछ ।’– गाउँपालिका अध्यक्ष मुक्तानले भने–‘सडक फराकिलो बनाउने पर्खाल लगाउने कामका लागि संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र प्रदेश सरकारको ७० लाख गरी बितेको वर्षमा एक करोड ४० लाख रुपैयाँ बराबरको काम भयो भने बाँकी रकम यस वर्ष पालिकाले बेहोर्नेछ ।’ बहुबर्षीय योजना अन्तर्गत १८ महिनामा सम्पन्न गर्नेगरी आयुश्री बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग ठेक्का सम्झौता गरी काम भइरहेको हो ।

ADVERTISEMENT

यसैगरी चुनियाँ–नामटार–कालिकाटार सडकअन्तरगत कुमल्टारदेखि बनझाँक्री खोल्चा ९च्याखेटार० खण्डको साढे ७ किलोमिटर सडक स्तरोन्नतिको काम पनि एक महिनाअघिदेखि धमाधम भइरहेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय चितवनबाट अमृतारआकृति मालिकारगोले जेभी हेटौंडा–१ ले कुल १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ । निर्माण कम्पनीले १८ महिनाभित्र तोकिएको काम सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।

त्रिभुवन राजपथको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार २१ किलोमिटरको दुरीमा रहेको छ । चुनियाँ–नामटार– कालिकाटार सडक २०३७ सालदेखि चलन चल्तीमा रहेता पनि हालसम्म स्तरीकरण नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । अब भने त्रिभुवन राजपथबाट गाउँपालिका कार्यालयसम्म सहज आवागमनको लागि सडक स्तरीकरणलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए ।

अबको केही वर्षमा नै सडक स्तरीकरणको काम सकिने बताउँदै उनले यातायातको सहज पहुँचसँगै पालिकाका सर्वसाधरणलाई आवतजावतमा मात्र नभई उनीहरुले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज हुने बताए । गाउँपालिकाले वडालाई पालिका केन्द्रसम्म जोड्न र विभिन्न टोलमा सडक सञ्जाल विस्तारका लागि आवश्यक बजेट विनियोजन गरिएको अध्यक्ष मुक्तानले जानकारी दिए ।


प्रकाशित मिति : मङ्लबार, २०८० कार्तिक २१, १५ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट