Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप : आर्मीलाई सडनडेथमा पराजित गर्दै धनकुटा सेमिफाइनलमा


हेटौंडा । राजारानी क्लब धनकुटा हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार हेटौंडा-६ स्थित निर्माणधीन गौरिटार रंगशालामा भएको खेलमा धनकुटाले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा पनि ३-३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो ।

खेलको ११ औं मिनेटमा आर्मीको तर्फबाट रसबहादुर मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ८४औं मिनेटमा धनकुटाका तर्फबाट विदेशी खेलाडी अजायी मार्टिनले गोल गर्दै खेल ट्राइब्रेकरमा पुगेको हो ।

टाइब्रेकरमा धनकुटाका तर्फबाट विशाल घलान, रुपेश केसी, दीप कार्कीले गोल गरेका थिए भने, सुनिल खड्का र अशोक खवासले गोल गर्न सकेनन् ।

यता आर्मीको तर्फबाट जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले गोल गर्दा बसन्त जिम्बा र श्रीराम चौधरीले गोल गर्न सकेनन् ।

ट्राइब्रेकरमा ३–३ गोल भएपछि सडनडेथमा राजारानीका प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । आर्मीका विमल पाण्डेले सडन डेथमा गोल गर्दा सिद्धान्त चौधरीको प्रहार धनकुटाका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।

गोलरक्षक कार्की खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

धनकुटाले अब सेमिफाइनलमा न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलि मंगलबार थ्रीस्टार क्लब ललितपुर र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट