हेटौंडामा एमाले कार्यकर्ताबाट कुटिएको बताउने युवकलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
आइतबार हेटौंडामा भएको एमालेको प्रदर्शनमा एमाले कार्यकर्ताद्वारा कुटाइ खाएको भनि भिडिओ बनाएर न्यायको लागि अपिल गरेका हेटौंडा- ५ बस्ने युवकलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ ।
बकैया घर भई हाल हेटौंडा ५- सानोपोखरा बस्ने संगम सेडाईले हिजो पार्टी अध्यक्षको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले आफु माथि बिनाकारण आक्रमण गरेको बताएका थिए । एमालेका महिला कार्यकर्ता तथा भर्खरै सम्पन्न निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका ब्यक्तिहरुको समुहले आफूमाथि कुटपिट गरेको उनको आरोप छ ।
प्रहरीले जोगाएर आफु बच्न सफल भएको उनले हेटौंडाखबर संगको कुराकानीमा भनेका छन् । ‘ मलाई बिनाकारण एकैपटक सबैले आक्रमण गरे, मार्ने ढंगले नै प्रस्तुत भएका थिए, प्रहरी नभएको भए त्यहि मार्थे प्रहरीले बचायो.’ उनले भने ।
उनले आइतबार साझ आफ्नो सामाजिक संजाल मार्फत भिडिओ बनाउंदै आफु अन्यायमा परेको भन्दै न्यायका लागि अपिल गरेका थिए ।
आफ्नो कुनै गल्ति नहुँदा पनि एमाले कार्यकर्ताले आफुलाई कुटपिट गरेको र संगै अन्य व्यक्तिहरुलाई समेत कुटपिट गरेको उनले भिडिओमा भनेका छन् ।
उनले रुँदै न्यायको लागि अपिल गरेपछी जिल्ला प्रहरी कार्यालय मकवानपुरले तुरुन्तै सम्पर्कमा आउन भनेको छ । सम्पर्कमा आएर आधिकारिक रुपमा जाहेरी दिएपछि दोषी उपर कारबाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित मिति : सोमवार, २०८२ चैत्र १६, ११ :३४ बजे



















प्रतिक्रिया