Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मुख्यमन्त्री बानियाँले विश्वासको मत नपाउने संकेत !


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुर समूहले विश्वासको मत नदिने संकेत गरेको छ।

ADVERTISEMENT

यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्ताव पेश गरी मुख्यमन्त्रीबाट पदच्युत गराएका बानियाँले भोलि २७ साउन दिउँसो ४ बजे विश्वासको मत लिने कार्यतालिका रहेको छ। तर बानियाँ र बहादुर टकराव उत्कर्षमा पुगेपछि बानियाँलाई थप चुनौती थपिएको हो।

ADVERTISEMENT

मुख्यमन्त्रीबाट राजीनामा दिने बेला राखेको सर्त बमोजिम बानियाँले बहादुर पक्षलाई साथ नलिएपछि बहादुर पक्षले बानियाँलाई विश्वासको मतमा असहयोग गर्ने जनाएको छ। निवर्तमान मुख्यमन्त्री लामा अहिले काठमाडौँमा छन्। नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले विश्वासको मत दिनका लागि निर्देशन दिए पनि राजीनामा दिने बेला गरिएको प्रतिबद्धता पुरा गरेपछि मात्र बानियाँलाई सहयोग गर्ने बहादुर पक्षको अडान छ।

बहादुरले राजीनामा दिनु अघि तीनजना मन्त्री नियुक्ति गरेका थिए तर प्रदेश प्रमुखले आफू बिरामी भएकाले ती मन्त्रीलाई सपथ नै नखुवाई उपचारका लागि भन्दै काठमाडौँ गएका थिए। ति तीनजना मन्त्रीलाई शपथ खुवाएर मन्त्रालय बाँडफाड गर्नुपर्ने अडानका साथ बहादुर पक्ष बसेको छ।

ADVERTISEMENT

उता केन्द्रीय सभापति देउवाले भने विश्वासको मत नदिए कारबाही गर्ने चेतावनी दिईसकेका छन्। यस अघि नै नेपाली कांग्रेस र नेकपा एमालेले बानियाँलाई विश्वासको मत दिन ह्विप नै जारी गरेको छ।
तर बहादुर पक्ष कुनै पनि हालतमा बानियाँलाई सहयोग नगर्ने भन्दै अडानका साथ बसेको छ।

यता संसदीयदलका नेता समेत रहेका बनियाँले १ बजे संसदीय दलको बैठक बोलाएका छन्। उता बहादुरले भने भोलि काठमाडौँमा १२ बजे आफ्ना समूहका सांसदहरुलाई बैठकमा डाकेका छन् ।

कुनै पनि हालतमा बानियाँलाई विश्वासको मत नदिने र परिआएको खण्डमा सामूहिक राजीनामा दिनेसम्मको अडान लिएर बहादुर पक्ष काठमाडौँमा बसेको छ। बहादुर पक्षले १२ बजे काठमाडौँमा बैठक बसी २ बजे पत्रकार सम्मेलन गर्ने विशेष स्रोतले जनाएको छ।

यता बानियाँले हेटौडामा ४ बजे विश्वासको मत लिने कार्यतालिका रहेको छ। प्रदेशसभामा ११० सांसदहरू मध्ये मुख्यमन्त्रीका लागि ५६ जनाको विश्वासको मत आवश्यक पर्दछ। जसमा नेपाली कांग्रेस र नेकपा एमालेले मात्र बानियाँलाई सहयोग गर्ने बताएका छन्।

नेपाली कांग्रेसका ३७ जना प्रदेश सभा सदस्यहरु मध्ये १४ जना बहादुर लामा पक्षका रहेका छन्। जसले बानियाँलाई असहयोग गर्ने जनाएका छन्।

दिउँसो ४ बजे विश्वासको मत लिने समय तोकिएको छ। तर उता बहादुर पक्षले भने १२ बजे काठमाडौँमा बैठक बसी २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। यसो हुँदा मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिका समेत प्रभावित हुने देखिएको छ ।

यसरी हेर्दा भोलि आफ्नै पार्टीबाट बानियाँले विश्वासको मत नपाउने संकेत देखिएको हो। त्यसो हुँदा बानियाँलाई ५६ सांसद पुर्‍याउन असहज हुने अवस्था सिर्जना भएको छ।


प्रकाशित मिति : सोमवार, २०८२ साउन २६, २२ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट