Techie IT
Hetauda Khabar

हेटौंडाका जनप्रतिनिधि नै सिडिओ कार्यालय परिसरमा आन्दोलनमा


जनप्रतिनिधिमाथि आक्रमण गर्नेलाई नियन्त्रणमा लिन नसकेको भन्दै हेटौडाका जनप्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय परिसरमै आन्दोलनमा उत्रिएका छन्। मकवानपुरको प्रहरी र प्रशासनले लामो समयसम्म पनि अपराधीलाई समाउन नसकेको भन्दै विरोध स्वरूप हेटौडाका सबै वडाका वडाध्यक्षहरू जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन बसेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा आक्रमण भएको थियो ।

हेटौंडाका वडाअध्यक्षहरुले दुईदिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेवल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने बताएका छन् । ‘वडा अध्यक्षमाथि आक्रमण भएको एक महिना भैसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुरको प्रहरी प्रशासनको लाचारीपन हो’, हेटौंडा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले भने । ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’ उनको आक्रोश छ ।

प्रमुख जिल्ला अधिकारिले मकवानपुरको शान्ति सुरक्षामा ध्यान दिन नसकेको आरोप जनप्रतिनिधिले समेत लगाउदै आएका छन ।

हुनत कानुन विपरित गृह जिल्लामा सरुवा भई आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ आएदेखि नै विवादमा परिरहेकी छिन् । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ विपरीत आफ्नै गृह जिल्लाको सिडिओ बनेकी स्किम आफ्नै जिल्लामा शान्ति सुरक्षाको मामलामा फेल भएकी छिन् । कार्यविधिमा अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा नखटाइने स्पष्ट व्यवस्था छ। तर, स्किम श्रेष्ठलाई गृहजिल्ला मकवानपुरको सिडिओ बनाएर पठाइएको थियो । गृहजिल्ला महोत्तरीको सिडिओ बनेर गएका लालबाबु कवारी र दैलेख गएका नवराज जैसी फिर्ता बोलाइएपनि स्किममलाई भने राजनैतिक पावरका कारण चलाइएको छैन।

अन्तत उनको कार्यसैली प्रति रुस्ट रहेको कान्छो सरकार उनि बिरुद्धनै आन्दोलनमा उत्रिएको छ ।

जिल्लामा सिडिओ बिरुद्धको पटक पटक आन्दोलन भएको र स्थानीय सरकारनै विरोधमा उत्रिएको पहिलो पटक हो । केही महिना अघि सिडिओविरुद्ध राजनीतिक दलको नाम जोडेर नारावाजी नै भएको थियो । पत्रकारमाथि जिल्ला प्रशासन भित्रै दुर्व्यवहार भएको भन्दै उनि विरुद्ध नेपाल पत्रकार महासघ मकवानपुर शाखाको असार १२ गते बसेको बैठकमा खेद प्रस्ताबनै पारित भएको थियो ।

वडा अध्यक्षमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै विरोध भैरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काको जिल्लामा चौतर्फीरुपमा आलोचना भैरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट