बन्लान् त बानियाँ मुख्यमन्त्री ? बहादुरलाई लास्टै तनाव

बागमती प्रदेशको मुख्यमन्त्री फेर बदलको चर्चा पुनः सुरु भएको छ । प्रदेश सरकारले ल्याएको बजेट निकै विवादित बनेपछि प्रदेश सरकारको नेतृत्व नै फेर्नुपर्ने आवाज बुलन्द रुपमा चर्किएको थियो। यद्यपि बागमती प्रदेशको बजेट विभिन्न सर्तसहित पास भइसकेको छ।
बजेट पास भएपनि बागमती प्रदेश सरकारको फेरबदलको चर्चा रोकिएको छैन। यसैबीच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउनै पर्ने भनि कांग्रेस वृत्तमा चौतर्फी आवाज उठिरहेको छ। प्रदेशको मुख्यमन्त्रीका कारण नेपाली कांग्रेस बागमती प्रदेश समेत विवादमा मुछिएको कैयौँ कांग्रेस जनको भनाइ छ। अर्कोतर्फ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हुनुपर्ने भन्दै उनका समर्थकहरुले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट बानियाँको पक्षमा आवाज उठाउन थालेका छन्। तर मुख्यमन्त्री फेरिन्छन् या बहादुर नै रहिरहन्छन्, एकिन भन्न सकिने अवस्था छैन।
यद्यपि मुख्यमन्त्रीमा बहादुर सिंह लामाको पद भने धरापमा परेको छ। प्रदेशको मुख्यमन्त्री भएपछि लामाले एकलौटी ढंगले काम गरेको, आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तालाई रुष्ट बनाएको र अन्य दलसँग समन्वय नगरी अघि बढेको आरोप लागेको छ।
मुख्यमन्त्री फेरबदलका कुरा भनेजस्तो सजिलो भने छैन। किनकि बागमती प्रदेशका संसदीय दलका नेता समेत रहेका लामाले राजीनामा नदिई मुख्यमन्त्री अरु व्यक्ति हुन सक्दैन । बहादुरले राजिनामा दिने हो भने संसदीय दलको निर्वाचन हुनुपर्नेछ । कतिपय कांग्रेसीहरू बहादुर सिंह लामालाई अविश्वासको प्रस्ताव पेश गरेर संसदीय दलको नेता अन्य व्यक्तिलाई बनाई मुख्यमन्त्री बनाउने तयारीमा लागेको समेत स्रोतले बताएको छ। त्यसो त प्रदेशको विवादित बजेटका कारण बहादुर सिंह लामा भन्दा मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नै ठिक हुने बागमती प्रदेशका कांग्रेसीहरूको भनाइ छ।
कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ समूहका हुन् हालका मुख्यमन्त्री लामा । सहमहामन्त्री कै हैसियतले पनि डिना कांग्रेस भित्र बलियै मानिन्छिन् ।
केही दिन अघि सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकमा खुलेरै प्रदेश सभापति समेत रहेका बानियाँको विरोध भएको थियो। उनलाई कारबाही गर्नुपर्ने भन्दै आवाज समेत उठेको थियो । निर्वाचनका बेला पार्टी विपरीत विपक्षी दलको नेतालाई सहयोग गरेको र आफ्नै पार्टीका नेतालाई हराउन लागि परेको भन्दै उनलाई पार्टीले कारबाही गर्नुपर्ने भनी डिनाले खुलेरै आवाज उठाएकी थिइन्।
बानियाँ विरुद्ध अनुशासन समितिमा उजुरी समेत परेको थियो। पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै बानियाँलाई कुनै पनि हालतमा कारबाही गर्नुपर्ने माग राखी डिनाले अडान लिएर बसेकी थिइन्। तर बानियाँलाई पार्टीले कारबाही भने गरेन । बानियाँ पार्टीको कारबाहीबाट जोगिए। कारबाहीको मुखैबाट जोगिएका बानियाँ थप बलियो भएको आंकलन गरिएको छ । पार्टीको कारबाहीबाट जोगिनु बानियाँलाई निकै फलदायी हुन सक्छ। बानियाँ नै मुख्यमन्त्री हुने कुरालाई समेत नकार्न सकिने अवस्था छैन।
तर बानियाँलाई त्यति सहज भने देखिँदैन । बागमती कांग्रेसभित्र एकातर्फ मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्ताव अगाडि बढाउनको लागि बानियाँको समर्थनमा हस्ताक्षरसमेत चलिसकेको हल्ला सुनिएको छ भने अर्कोतर्फ रामकृष्ण चित्रकार पनि मुख्यमन्त्री हुने दौडमा लागेको छन् । बानियाँलाई मुख्यमन्त्री बनाउनुको साटो बहादुरलाई हटाएर डिना पक्षकै अर्का व्यक्ति उपस्थित गराएर मुख्यमन्त्रीको पद दिने तयारी समेत डिना पक्षका कांग्रेसजनको तयारी छ। चित्रकार पनि सोही अनुरुप होमवर्क गर्न थालिसकेका छन्।
अर्कोतर्फ बानियाँ पक्ष पनि भित्रभित्र आफ्नो समर्थनमा कांग्रेस संसद जुटाउन लागि परेको छ। यस विषयमा बहादुर सिंह लामामाथि अविश्वासको प्रस्ताव लैजाने तयारी आफूलाई जानकारी नभएको इन्द्रबहादुर बानियाँको भनाइ छ। ‘अहिले संसदीय दलको नेता बहादुर सिंह लामा हुन्। उनी नै मुख्यमन्त्री हुन्। अविश्वासको प्रस्ताव लाने र मुख्यमन्त्री फाल्ने भन्ने विषय हाम्रो सोचभन्दा बाहिरको विषय हो, त्यसबारे कुनै कुरा भएकै छैन सोचेकै छैन,’। बानियाँले भने ।
उता बहादुर सिंह लामा पनि विवादै विवादका बीच हार खाने अवस्थामा पुगिसकेका छन् । बजेट पछि चौतर्फी घेराबन्दीमा परेका लामा पद छाड्न राजी हुने अवस्थामा पुगेका छन् । विवाद चर्किएपछि केही दिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका लामालाई सभापति देउवाले हप्काएका थिए। सभापति देउवाले लामालाई पद छोड्नुस भनेका थिए । केन्द्रीय सभापति अगाडि निरिह बनेका लामा अन्त्यमा आफू पारिवारिक कारणले विदेश जान लागेको र आएपछि राजीनामाको विषयमा सोच्ने भन्दै बाहिरिएको गोप्य स्रोतको दाबी छ। हाल उनी नेपालमा छैनन्। सभापति देउवा अगाडि बोलेको कुरा पूरा गर्ने हो भने हालका मुख्यमन्त्री लामाले नेपाल आउने बित्तिकै राजिनामा बुझाउनेछन् र संसदीय दलमा अर्का व्यक्ति नेता चुनिनेछन् र मुख्यमन्त्री बन्नेछन् ।
कांग्रेसको संसदीय दलका नेतामाथि अविश्वासको प्रस्ताव पेश गर्न २५ प्रतिशन सदस्य चाहिन्छ । हाल प्रदेश सभामा कांग्रेसको तर्फबाट ३७ जना रहेका छन्। जसमध्ये २५ प्रतिशत पुर्याउन १० जना पुगे हुन्छ। तर बानियाँको पक्षमा ११ जना पुगिसकेको बानियाँ पक्षकै नेताहरू बताउँछन्। अर्कोतर्फ अविश्वासको प्रस्ताव पारित हुनको लागि ६० प्रतिशत बहुमत आवश्यक पर्दछ । यदि ६० प्रतिशतले अविश्वासको प्रस्तावमा राजी भए तत्कालै मुख्यमन्त्री लामाको पद च्युत हुनेछ ।
त्यसो गर्नका लागि बानियाँ पक्षलाई त्यति सहज भने हुने छैन। किनकि निर्वाचनमा सहममन्त्री समेत रहेकी डिनालाई हराएर अन्य दलका उम्मेदवारलाई भोट हालेको र कांग्रेस कै नेता आनन्दराम पराजुलीलाई समेत हराउन कांग्रेसीहरु लागि परेको भनी त्यसको बदला लिनकै लागि भएपनि कुनै पनि हालतमा बानियाँलाई मुख्यमन्त्री बनाउन नहुने लाइनमा छन्, डिनापक्षका कांग्रेसीहरू।
सहममन्त्रीले नै बानियाँलाई कारबाही गर्नुपर्छ भनिरहँदा उनलाई पार्टीले कारबाही नगरेपछि बानियाँलाई केन्द्रस्तरबाट पुरा सहयोग हुन सक्ने सजिलै अनुमान लगाउन सकिन्छ। अर्को तर्फ कांग्रेसका सभापति देउवा लगायतको समुहले नै बानियाँलाई ग्रीन सिग्नल दिइसकेको विशेष स्रोतले बताएको छ । त्यसो हुँदा मुख्यमन्त्री लामालाई दबाब दिएर राजीनामा दिन लगाउने र इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने रणनीति तयार भइरहेको समेत स्रोतको दाबी छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया