Techie IT
Hetauda Khabar

हेटौंडामा कानुन विपरित चिकित्सकले ठप्प पारे स्वास्थ्य सेवा, विरामी मर्कामा


नेपाल चिकित्सक संघले कानुन विपरित आज देशभरका सरकारी तथा निजि अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प गरेको छ ।

उपभोक्ता अदालतको फैसलाबिरुद्धको चरणवद्ध आन्दोलन भन्दै संघले स्वास्थ्य सेवा नै बन्द गर्ने घोषणा गरेको थियो । सोही निर्णय अनुसार कानुन विपरित आज हेटौंडामा पनि सेवा ठप्प पारिएको छ । काठमाण्डौको ओम अस्पताल, हिमाल अस्पताल र ग्राण्डी सिटी अस्पतालबिरुद्ध परेको मुद्धामा अदालतले लापर्वाही ठहर गर्दै अस्पताल र उपचारमा सम्लग्न चिकित्सकमाथि एक करोड भन्दा माथि क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएपछि फैसलाको विरोधमा स्वास्थ्य सेवा नै ठप्प पारिएको हो ।

कुनै पनि बाहानामा स्वास्थ्य सेवा बन्द गर्नु गैर कानुनी हो । तर चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले नै कानुन विपरित स्वास्थ्य सस्था जस्तो सम्बेदनशील क्षेत्र नै ठप्प पारेको छ ।

जनस्वास्थ्य ऐन २०७५ को प्रस्तावना मै नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी,गुणस्तरीय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुँच स्थापित गर्नको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन जारी गरिएको उल्लेख छ ।

यहि ऐनको दफा ३ को उपदफा (१) मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुनेछ भनिएको छ ।
यसैको उपदफा ३ मा कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनिएको छ । तर चिकित्सक संघको आन्दोलनले विरामीहरु उपचार सेवाबाट बन्जित भएका छन् ।

ऐनको दफा ५२ मा कसुर र सजायको व्यवस्था गरिएको छ । यसै दफाको उपदफा ‘ख’ र ‘घ’ मा स्वास्थ्य उपचार सेवा प्रदान गर्न इन्कार गरेमा र स्वास्थ्य संस्थाले आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक उपचार प्रदान गर्न इन्कार गरेमा २५ हजार देखि ५० हजार सम्म जरिवाना हुने उल्लेख गरीएको छ ।
तर हेटौंडामा चिकित्सक संघकै अगुवाईमा आन्दोलनको नाममा चिकित्सकहरुले स्वास्थ्य सेवा बन्द गरेका छन् ।

विभिन्न बाहनामा चिकित्सकले स्वास्थ्य सेवा ठप्प पार्दा समेत मन्त्रालय र सम्वन्धित निकायले यस तर्फ ध्यान दिएको छैन ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट