हेटौंडामा स्थानीय सरकारकै मिलेमतोमा गिट्टी बालुवाको तस्करी

हेटौंडा उपमहानगरपालिका भित्रका विभिन्न खहरेबाट नदीजन्य पदार्थको अत्याधिक चोरी निकासी हुने गरेको छ। हेटौंडा उपमहानगरपालिकाकै कर्मचारीको मिलेमतोमा यस्ता चोरी निकासी हुने गरेको हो। हेटौंडाका कर्रा खोला लगायतका आसपासमा रहेका क्रसर उद्योगहरूले खहरे खोलाहरूबाट ट्याक्टरको प्रयोग गरी अत्याधिक रुपमा नदीजन्य पदार्थको तस्करी गर्ने गरेका हुन्।
नगरप्रहरीले कहिलेकाहीं कारवाही गरेको नाटक गरेपनि खोला भरी ट्र्याक्टर प्रयोग गरी गिट्टी बालुवा चोरी निकासी गर्ने गरेका छन् । असार मसान्त पछि कुनैपनि बाहानामा कुनैपनी सवारीसाधनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन । तर हेटौंडाका विभिन्न खहरेमा रातभर र विशेष गरी बिहान बेलुका गिट्टी बालुवा चोरी निकासी हुने गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ र १५ मा पर्ने विभिन्न खहरे खोलाबाट अवैध रुपमा गिटी बालुवाको तस्करी हुने गरेको छ। दिनभर नै ट्याक्टर प्रयोग गरी क्रसर उद्योगहरूले मनलाग्दी नदीजन्य पदार्थको चोरी निकासी गर्दा समेत उपमहानगरपालिकाले देखि नदेखे झैँ गरेको छ। रातभर पनि ट्याक्टरले गिट्टी बालुवा ओसार्ने गरेको स्थानीयहरूले बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका ५ शान्तिनगरमा रहेको समृद्धि बालुवा प्रशोधन उद्योगले दिनभर र रातिको समयमा समेत हेटौंडा ८ र १५ स्थित खहरे खोलाबाट अवैध रुपमा गिट्टी बालुवाको चोरी निकासी गर्ने गरेको छ । त्यस्तै हेटौडा ७, ८ र ४ मा रहेका अन्य बालुवा प्रशोधन उद्योग तथा क्रसर उद्योगहरूले नदीजन्य सामग्रीको चोरी निकासी गर्ने गरेका छन्।
यसरी खहरेबाट अवैध रुपमा नदीजन्य पदार्थको तस्करी हुँदा समेत यहाँको स्थानीय सरकार भने मुकदर्शक बनेको छ। हेटौंडा उपमहानगरपालिका कर्मचारी तथा नगर प्रहरीहरूलाई नै उद्योगहरूले रकम दिई सेटिङमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने गरेका हुन् । उपमहानगरपालिकाका कर्मचारी र नगर प्रहरीलाई मिलाएर खोला खहरेबाट गिट्टी बालुवा ओसारपसार गर्ने गरेको उद्योगका कर्मचारीहरू नै बताउँछन्।
हेटौडा ५ मा रहेको सुरेश पुरीले सञ्चालन गर्ने गरेको समृद्धि बालुवा प्रशोधन उद्योगका कारण कर्रा खोला वर्षौंभरि प्रदुषित हुने गरेको छ। आसपासमा रहेका चरिचरण जमिनसमेत उद्योगको कारण नष्ट हुँदै गएको छ ।
हेटौडा उपमहानगरपालिका भने गिट्टी बालुवा तस्करको संरक्षण गर्दै आइरहेको छ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया