Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

पारिश्रमिक नपाएपछि शिक्षकद्वारा परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित


रौतहट १ चैत। लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले तलबको लागि बार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।शिक्षकको बहिष्कारको कारण नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका बार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन्।

ADVERTISEMENT

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा केहीबेर अघि माध्यामिक विद्यालय दुधिअवाको प्राङ्गणमा सम्पन्न बैठकले बुधबार निर्णय गरिएअनुसार बार्षिक परीक्षा बहिष्कार यथावत राख्ने सहमति भएको हो।

ADVERTISEMENT

फतुवा बिजयपुरमा नगरपालिका स्थापना भएदेखि नै आफ्नै तलब पाउन प्रत्येक बर्ष आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्यका लागि यसपटक परीक्षा बहिष्कार गर्ने भएको निर्णयलाई सर्वसहमतिले कार्यान्वयन  गर्ने बैठकमा सल्लाह भएको शिक्षा संयोजक यादवले जानकारी दिएका छन्।

बैठकमा मा.बि दुधिअवा प्रधानाध्यापक रवीन्द्र साह, मावि बिजयपुर शंकर राय, हिमालीवास बाबुराम आचार्य, शितलपुर माविका बुनिलाल यादव, निमावि डुमरियाका सन्ताेष जयसवाल, निमावि भैसहीका अशाेक जयसवाल, निमावि लक्ष्मिनियाका जयकिशाेर साह, निमावि बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत शिक्षकहरूको सहभागिता रहेको थियो।

ADVERTISEMENT

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू बुधबार बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका थिए। नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बसेको बैठकले जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन बार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको थियो।

कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले ६ हजार विद्यार्थीको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेका थिए।

नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिका बाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको विवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी थिइन्।

खातुनले न्युज कारखानासँग कुरा गर्दै आफू कार्यवाहक मेयरको जिम्मेवारी पाएदेखि नै केही जनप्रतिनिधि बिभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी थिइन्।

त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहाेर्‍याएका थिए।

‘लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं , शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रियाअगाडl बढेको छ, तथापि ४ गते आइतबार सबैको खातामा जानेछ,’ उपसचिव प्रधानले पुनः प्रतिवद्धता जनाए ।

फतुवा बिजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियार द्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ।


प्रकाशित मिति : बिहिबार, २०८० चैत्र १, ११ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट