Techie IT
Hetauda Khabar

चितवनमा दुईवटा गैँडा मार्ने मकवानपुरका ५ जनासहित ८ जना पक्राउ


हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका ५ जनासहित ८ जना रहेका छन् ।

गैंडा मारेको आरोपमा पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ लेबर्टका ३३ वर्षीय रमेश खाँती थिङ, मनहरी गाउँपालिका-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ (थिङ बाजे), राक्सिराङ गाउँपालिका-९ घर भई हाल हेटौंडा-४ मा बस्ने ४४ वर्षीय समशेर थिङ र चितवनको राप्ती नगरपालिका-११ का ४२ वर्षीय पासाङ भनिने आइतसिंह मोक्तान छन्।

त्यस्तै, रोल्पाको सुनछहारी गाउँपालिका(६ फागम घर भइ हाल हेटौंडा-५ बस्ने २८ वर्षीय अर्जुन रोका, गोरखाको बारपाक घर भई हाल भरतपुर महानगरपालिका-११ लामा टोल बस्ने ७७ वर्षीय धनबहादुर गुरूङ, चितवनको कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र मकवानपुरको मनहरी घर भइ हाल चितवनको बाँदुरझुला बस्ने ५६ वर्षीय इन्द्रबहादुर तामाङ पनि पक्राउ परेका हुन्।

उनबहादुर र इन्द्रलाई मंसीर ११ गते र अरुलाई मंसीर ९ गते पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। पक्राउ परेका रमेश खाती र थिङ बाजे मुख्य योजनाकार भएको पुनको भनाइ छ। उनीहरूमध्ये तीन जना गैंडा मार्ने शिकारी र तीन जना बिक्री वितरण तथा सहयोग गर्ने रहेको उनले बताए।

निकुञ्जको पूर्वी क्षेत्र चपरचुलीमा खाल्डोमा पारेर गैंडा मारेको आरोपमा पक्राउ परेका उनीहरूसँगै बरामद गरिएका सामान पनि निकुञ्जले सार्वजनिक गरेको छ। गत कात्तिक ३० गते निकुञ्जमा खाल्डोमा परेर मरेका खागबिहीन दुई वटा गैंडा फेला परेका थिए।

निकुञ्जको टोलीले उनीहरूबाट दुई वटा खाग पनि बरामद गरेको छ। त्यसतै, एउटा भरुवा बन्दुक, ना २४ प ४२३४ निलो कालो १८० सीसीको पल्सर, ना ३६ प ५५०१ एनएस रातो १५० सीसीको पल्सर, बारुद, गुलेली, टर्च लाईट, बन्चरो लगायतका सामान बरामद गरिएको प्रमुख संरक्षण अधिकृत पुनले बताए।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, चितवनबाट सात दिनको म्याद लिइएको छ। यसमा थप अनुसन्धान भइरहेको पुनको भनाइ छ।

यस पटक शिकारीले गैंडा मार्न दशकअघि प्रयोग हुँदै आएको खाल्डोको पासो बनाएको पाइएको छ। शिकारीले सात वटा खाल्डो बनाएको भेटिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले बताए। खाल्डोलाई बारेर छोपेपछि गैंडा मार्नका लागि शिकारीहरू करीब एक किलोमिटर वरिपरि बसेको पाइएको ढुंगानाले बताए। त्यस ठाउँमा चाउचाउका खोल, पानीका बोतल, आगो बालेको समेत पाइएको उनको भनाइ छ।

गैंडा मारेर खाग लैजान शिकारीले करीब तीन साता जति लगाएको अनुसन्धानमा पाइएको छ। निकुञ्जभित्र धेरै आवागमन तथा गस्ती नहुने ठाउँलाई रोजेर गैंडालाई पासो थापेको खुलेको छ। “धेरै आवागमन नहुने ठाउँ, चाडपर्वको समयलाई मध्यनजर गरी दशैं र तिहारको समय पारेर गैंडा मारिएको छ,” महानिर्देशक ढुंगानाले भने, “चाडको समयमा नियमित गस्ती भएको थिएन। अनलाइन ट्रयाकिङ गर्दा सात दिन अघि त्यस ठाउँमा गस्ती भएको पाइयो।”

यो घटनाको अध्ययन गरी सुझाव पेश गर्न वन तथा वातावरण मन्त्रालयले मंसीर १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशकको संयोजकत्वमा नेपाली सेना, केन्द्रीय अनुसन्धान व्यूरोका प्रतिनिधि, कानून अधिकृत सहितको पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले प्रतिवेदन समेत बुझाइसकेको विभागका महानिर्देशक ढुंगानाले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले गैंडा मारेमा वा यसको अंगको कारोबार या ओसारपसार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट