Techie IT
  • १२ चैत्र २०८२, बिहीबार
Hetauda Khabar
  • १२ चैत्र २०८२, बिहीबार

हेटौडा महोत्सवमा खुलेआम अनियमितता: प्रशासनको निर्देशन स्थानीय सरकारले लत्यायो, मिलेमतोको गम्भीर आशंका


हेटौडामा सञ्चालन भइरहेको कृषि, व्यापार तथा पर्यटन महोत्सव अहिले गम्भीर विवादको केन्द्रमा पुगेको छ। गैरकानुनी रूपमा रकम असुली, कालोबजारी र विभिन्न आर्थिक अनियमितता भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमन गरि गत चैत ६ गते नै हेटौडा उपमहानगरपालिकालाई तत्काल अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको थियो।

ADVERTISEMENT

तर प्रशासनको उक्त निर्देशन कार्यान्वयन भएको परै जाओस्, ६ दिन बितिसक्दा पनि उपमहानगरपालिकाले कुनै औपचारिक जवाफसमेत नदिएको पाइएको छ। यसले स्थानीय सरकारको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।

ADVERTISEMENT

उक्त पत्रको आजसम्म हेटौंडा उपमहानगरपालिकाले कुनै जवाफ नदिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हेटौंडाखबरलाई जानकारी दिए आजसम्म औपचारिक कुनैपनि पत्र प्राप्त भएको छैन, उनले भने ।

प्रशासनकै नेतृत्वमा खटिएको अनुगमन टोलीले प्रारम्भिक निरीक्षणका क्रममा महोत्सवमा कालोबजारी तथा अनियमितता भएको तथ्य फेला पारेपछि महोत्सवको समयावधि घटाउनसमेत स्पष्ट निर्देशन दिएको थियो। तर सो निर्देशन पूर्ण रूपमा बेवास्ता गरिएको छ । महोत्सव भने पूर्वनिर्धारित तालिकाअनुसार फागुन २९ गतेदेखि चैत १४ गतेसम्म निरन्तर सञ्चालन भइरहेको छ।

ADVERTISEMENT

महोत्सवमा टिकट तथा स्टल शुल्कमा अपारदर्शी रूपमा रकम असुली, मूल्यसूचीबिना सामान बिक्री गर्दै कालोबजारी, बैंकिङ प्रणालीबाहिर कारोबार, अश्लील तथा सामाजिक मर्यादा विपरीतका नृत्य प्रदर्शन, ठेक्का प्रक्रियामा अपारदर्शिता जस्ता गम्भीर आरोपहरू बाहिरिएका छन्।

यस्ता गतिविधि रोक्नुपर्ने निकाय स्वयं निष्क्रिय बस्नुले ‘नदेखेझैँ गर्ने’ मात्र होइन, सम्भावित मिलेमतोको आशंका समेत बलियो बनाएको छ। अर्को तर्फ अझ चिन्ताजनक कुरा के छ भने, यस्ता महोत्सव सञ्चालनका लागि स्थानीय तहले आफैं बनाएको कार्यविधि र मापदण्डसमेत खुल्लमखुल्ला उल्लंघन गरेको छ। जसले गर्दा कानुनी शासनमाथि नै प्रश्न उठेको छ।

उता जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई बेवास्ता गरिनु सामान्य लापरवाही मात्र नभई राज्य संयन्त्रबीचको समन्वयको कमजोरी वा जानाजानी गरिएको अवज्ञा भएको सरोकारवालाले बताएका छन् । यदि प्रशासनको निर्देशनसमेत कार्यान्वयन नहुने हो भने कानुनको प्रभावकारिता माथि नै प्रश्न उठेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भारत गौतमले भने उपमहानगरपालिकाका नगर प्रहरीले दिनहुँ अनुगमन गरेको प्रतिक्रिया दिएका छन् ।

महोत्सवलाई स्थानीय अर्थतन्त्र चलायमान बनाउने, कृषि र पर्यटन प्रवर्द्धन गर्ने माध्यमका रूपमा प्रस्तुत गरिए पनि व्यवहारमा भने यसले जनविश्वासमाथि ठाडो प्रहार गरेको देखिन्छ। सार्वजनिक सरोकारको कार्यक्रमलाई केही सीमित समूहको आर्थिक स्वार्थ पूरा गर्ने माध्यम बनाइएको हो कि भन्ने गम्भीर प्रश्न अहिले उठिरहेको छ।

 

 

 

 

 


प्रकाशित मिति : बिहिबार, २०८२ चैत्र १२, १२ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट