Techie IT
  • ७ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • ७ चैत्र २०८२, शनिबार

हेटौंडाको महोत्सवमा कालोबजारी- प्रशासनको अनुगमनले हावा खायो, स्थानीय सरकार माथि मिलेमतोको आशंका


हेटौंडामा जारी महोत्सव शुरुवाती दिनदेखि नै विवादमा मुछिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौडामा सञ्चालन भइरहेको कृषि, खेलकुद तथा पर्यटन महोत्सवमा कानुन विपरीत गतिविधि भइरहेको तथा खुलेआम कालोबजारी चलिरहेको भन्दै चौतर्फी विरोध भइरहेको हो।

ADVERTISEMENT

सरकारले तोकेको मापदण्डअनुसार १०० रुपैयाँभन्दा बढी प्रवेश शुल्क लिन नपाइने व्यवस्था भए पनि आयोजकले हरेक दिन मनलाग्दी रूपमा शुल्क परिवर्तन गर्दै बढी रकम असुल गरिरहेको छ। प्रवेश शुल्क मात्र नभई विभिन्न क्षेत्रको अवलोकन तथा मनोरञ्जनका सामग्री प्रयोग गर्न छुट्टै शुल्क तिर्नुपर्ने बाध्यता रहेको आगन्तुकहरु बताउँछन्।

ADVERTISEMENT

आयोजकले आफैले प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थीलाई ७५ रुपैयाँ का दरले प्रवेश शुल्क लिने भनी सम्बन्धित निकायमा लिखित रुपमा जानकारीसहितको पत्राचार गरेको भए पनि सुरुवाती दिनदेखि नै आयोजकले मनलाग्दी ढंगले रकम असुली गरेको गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यविधिमा कुनै पनि मेला महोत्सव गर्दा प्रतिव्यक्ति रु. १०० का दरले नबढाई शुल्क लिन पाउने प्रावधान रहेको छ तर उक्त प्रावधानलाई कुल्चिएर लिखित रुपमा सुरुवाती दिनदेखि नै मनलाग्दी ढंगले रकम असुली गरिएको थियो ।

आयोजकले आफूखुसी हरेक दिन फरक फरक दररेट राखी टिकट बिक्रीमा कालोबजारी गर्ने गरेको छ । त्यति मात्र होइन महोत्सवमा पुगेका आगन्तुकहरू पाइलै पिच्छे ठगिने गरेका छन् । आयोजकले मनलाग्दी ढंगले उठाएको प्रवेश शुल्क तिरेर भित्र छिरेपछि पनि हरेक ठाउँमा विभिन्न शुल्कहरु मनोमानी रुपमा उठाउने गरिएको छ, जसले गर्दा मेला हेर्न आउने दर्शकहरु मारमा परेका छन् ।

ADVERTISEMENT

यस्तै, सवारी साधन पार्किङ शुल्कसमेत मनपरी रूपमा उठाइँदै आएको गुनासो बढ्दो छ। महोत्सव परिसरभित्र आगन्तुकहरू पटक–पटक ठगिने गरेको आरोपसमेत लागिरहेको छ।

मेला भित्र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री भइरहेको, खानाका परिकारहरू समेत अखाद्य अवस्थामा रहेको र व्यापारीहरूले आफैंले प्याकेजिङ तथा लेबलिङ गरी वस्तु बिक्री गरिरहेको पाइएको छ। यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

कृषि उत्पादन तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको भएपनि आयोजकले फुटपाथे सामानहरू र बिक्री नभएका स्टक बसेका सामानहरु मात्र बेच्ने ठाउँ जस्तो भएको भन्दै आगन्तुकको गुनासो गरेका छन् । त्यति मात्र होइन मेला भित्र बेच्न राखिएका अधिकांश वस्तुहरू अखाद्य रहेको पाइएको छ ।

व्यापारीले मनलागी ढंगले नागरिकको स्वास्थ्यलाई बेवास्ता गर्दै अखाद्य वस्तु विक्री वितरण गरिएको भेटिएको छ । उद्योगको छाप देखि लेभलिङ गर्ने स्टिकर तथा मेसिन नै स्टलमा राखी आफूखुसी उत्पादन र उपभोग्य मिति बनाई बेच्ने गरेको पाइएको छ ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पुगेको अनुगमन टोलीले समेत महोत्सवमा अखाद्य वस्तु फेला पारेको थियो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पुगेको अनुगमन टोलीले समेत आफूखुसी उत्पादन र उपभोग्य मिति परिवर्तन गर्दै अखाद्य वस्तु बिक्री वितरण गर्ने व्यापारीको सामग्रीहरू जफत समेत गरिएको थियो ।

पाइलैपिच्छे कालोबजारी देखेपछि अनुगमन गर्न पुगेको अनुगमन टोली नै छक्क परेको थियो तर पनि स्थानीय सरकार हेटौंडा उपमहानगरपालिका भने हाल सम्म पनि मौन बसेको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन पछि कालोबजारी भइरहेको भेटिएपछि प्रशासनले हेटौंडा उपमहानगरपालिकाको नाममा पत्र काट्दै तत्काल अनुगमन गरी कारबाही गर्न र मेलाको समयावधि घटाउन निर्देशन समेत जारी गरेको थियो तर यस विषयमा हेटौंडा उपमहानगरपालिकाले कुनै पनि प्रतिक्रिया जनाएको छैन । हालसम्म कुनै पनि अनुगमन गरेको छैन भने कारबाही प्रक्रिया पनि अगाडी बढाएको छैन ।

आफैंले बनाएको कार्यविधि उल्लंघन गर्दै खेलकुद विकास समितिलाई हेटौंडा उपमहानगरपालिकाले महोत्सवको स्वीकृति दिएको थियो । महोत्सवको स्वीकृति दिँदा प्रतिव्यक्ति सय रुपैयाँ प्रवेश शुल्क, पार्किङ शुल्क २ पांग्रेको २० रुपैयाँ र चारपांग्रेको ४० रुपैयाँ, मेलाको समयावधि बढीमा ७ दिन लगायतका थुप्रै मापदण्डहरूमा आफैले बनाएको मापदण्ड मिचेर उपमहानगरपालिकाले स्वीकृति प्रदान गरेको छ । यसले हेटौंडा उपमहानगरपालिका र मेला आयोजक बीच अदृश्य चलखेल रहेको आशंका गरिएको छ।


प्रकाशित मिति : शनिबार, २०८२ चैत्र ७, २० :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट