हेटौंडाको कृषि, व्यापार तथा पर्यटन महोत्सवमा बाह्य स्टलको प्रभुत्व, उद्देश्य माथि प्रश्न
हेटौंडा । जिल्ला खेलकुद विकास समिति को आयोजनामा हेटौंडामा जारी कृषि, व्यापार तथा पर्यटन महोत्सव अपेक्षित उद्देश्यअनुसार सञ्चालन हुन नसकेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ।
महोत्सवलाई कृषि, पर्यटन तथा खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको भए पनि स्थलमा यिनै क्षेत्रसँग सम्बन्धित स्टलभन्दा बाह्य तथा खुद्रा फुटपाथमा बिक्री हुने सामग्रीका स्टलहरू अधिक देखिएका छन्।
स्थानीयले महोत्सवको नाम र वास्तविक गतिविधिबीच ठूलो अन्तर रहेको गुनासो गरेका छन्। “नाम कृषि, पर्यटन र खेलकुदको छ, तर भित्र जाँदा अधिकांश स्टल कपडा, जुत्ता, खेलौना र अन्य खुद्रा सामानले भरिएका छन्,” एक आगन्तुकले बताए।
महोत्सवमा कृषिजन्य उत्पादन, स्थानीय उद्यम, पर्यटन प्रवर्द्धन तथा खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको सरोकारवालाहरूको भनाइ छ। यसले स्थानीय किसान, पर्यटन व्यवसायी तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूलाई समेत निराश बनाएको छ।
त्यस्तै, केही व्यवसायीहरूले समेत महोत्सवको व्यवस्थापन पक्ष कमजोर रहेको टिप्पणी गरेका छन्। “यदि यस्ता महोत्सवमा स्थानीय उत्पादन र पहिचानलाई प्राथमिकता नदिने हो भने यसको औचित्य के रहन्छ ?” उनीहरूले प्रश्न गरेका छन्।
सरोकारवालाहरूका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन प्रवर्द्धन तथा खेलकुद गतिविधिलाई प्रोत्साहन दिनुपर्ने भए पनि वर्तमान अवस्थामा महोत्सव व्यापारिक मेलाजस्तो मात्र देखिएको छ।
प्रकाशित मिति : शुक्रबार, २०८२ चैत्र ६, १३ :२२ बजे


















प्रतिक्रिया